दार्चुलाः एम्बुलेन्समा मृत हरिण, चालक पक्राउ

काठमाडौं। एम्बुलेन्समा मरेको हरिण भेटिएपछि दार्चुला प्रहरीले चालकलाई पक्राउ गरेको छ।

बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ मा मृत हरिण भेटिएको हो।

दार्चुला प्रहरीले आज साढे १२ बजे शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट मृत हरिणसहित एम्बुलेन्स चालक बैतडी डिलाशैनी–३ का २९ वर्षीय महेश बोहोरालाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्ति, एम्बुलेन्स र हरिणलाई चौलानी सप्तभिजन वन कार्यालय गोकुलेश्वर बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए।

“एम्बुलेन्सको ठक्करबाट हरिणजस्तो देखिने वन्यजन्तु मरेको र सोही एम्बुलेन्समा हालेर ल्याएको चालकले बताएका छन्”, चन्दले भने, “अनुसन्धान भइरहेको छ।”

सो एम्बुलेन्स बिरामी बोकेर कञ्चनपुर गएको थियो। कञ्चनपुरबाट फर्कने क्रममा शुक्लाफाँटा निकुञ्जकाे अर्जनी जंगलमा एम्बुलेन्सको ठक्करबाट सो वन्यजन्तु मरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार चालकले वन्यजन्तु मरेपछि एम्बुलेन्समा हालेर ल्याएको प्रहरी समक्ष बताएका छन्।

शंका लागेर एम्बुलेन्स जाँच गर्दा गाेकुलेश्वर प्रहरीले मृत हरिण फेला पारेकाे हाे।

प्रतिक्रिया दिनुहोस्