एनभीए अवार्डः सरस्वती र कूलबहादुर उत्कृष्ट
काठमाडाैं। सशस्त्र प्रहरी बल (एपीएफ) क्लबकी सरस्वती चौधरी र नेपाल पुलिस क्लबका कूलबहादुर थापा नेपाल भलिबल संघले प्रदान गर्ने एनभीए अवार्डमा वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका छन्।
एनभीए अवार्डको तेस्रो संस्करणमा सरस्वती महिलातर्फ उत्कृष्ट बनिन् भने कूलबहादुर पुरुषतर्फ उत्कृष्ट घोषित भएका हुन्।
नेपाल पुलिस क्लबकी उषा भण्डारी महिलातर्फ उदीयमान खेलाडी घोषित भएकी छिन्। पुरुषतर्फ भने त्रिभुवन आर्मी क्लबका सरणसामरी क्षेत्री उदीयमान खेलाडी घोषित भए। उत्कृष्ट सबैले जनही २५ हजार रूपैयाँ पुरस्कार जिते।
एपीएफ क्लब महिलातर्फ तथा नेपाल पुलिस क्लब पुरुषतर्फ २०७५ वर्षको उत्कृष्ट भलिबल टीम घोषित भए। उत्कृष्ट घोषित दुवै टीमले समान एक लाख रूपैयाँ पुरस्कार पाए।
नेपाल भलिबल संघद्वारा सम्बन्धनप्राप्त प्रतियोगिताहरूमा एपीएफ महिला टीमले १० मध्ये ९ प्रतियोगिताको उपाधि जितेको थियो। पुरुषतर्फ पुलिस क्बलले ९ मध्ये ६ प्रतियोगितामा विजय हासिल गरेको थियो।
एपीएफ महिला टीमका प्रशिक्षक ज्ञानेन्द्र बिष्ट र पुलिस पुरुष टीमका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। दुवैले जनही २५ हजार रूपैयाँ नगद पुरस्कार पाए।
कामको कदर
राईलाई संघले २५ हजार रूपैयाँसहित अभिनन्दन पत्रले सम्मान गरेको हो। त्यस्तै संघले नेदरल्याण्ड भलिबल संघका विकास निर्देशक पिटर भान तरेललाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ।
बंगलादेशको ढाकामा सम्पन्न प्रथम एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप २०१९ को उपाधि जितेको महिला भलिबल टीमका प्रत्येक सदस्यलाई २५ हजार रूपैयाँसहित सम्मान गरिएको छ।
कोपिलाको सन्यास
भलिबल खेलमा लामो समय बिताएकी कोपिला उप्रेतीले अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएकी छन्। कोपिलालाई संघले ५० हजार रूपैयाँसहित सम्मान पत्रले सम्मान गरेको हो।
कोपिलाले २०६१ सालदेखि नेपाल पुलिस क्लब र राष्ट्रिय टोलीबाट निरन्तर भलिबल खेल्दै आएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्