चारुमती विहारमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन
काठमाडाैं। नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न चावहिलस्थित चारुमती विहारमा आज अन्तर्राष्ट्रिय त्रिपिटक वाचन गरिएको छ।

स्वदेशी तथा विदेशी भिक्षुले बौद्ध साहित्यका केही वाक्यांशलाई सामूहिकरूपमा पाली भाषामा पाठ गरी विश्व शान्ति तथा राष्ट्रिय कल्याणका लागि कामना गरिएको हो।

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसीप एशोसियसनको संयुक्त आयोजनामा कार्यक्रम भएकाे साे विहार करीब दुई हजार ३०० वर्ष पुरानो मानिन्छ।

नेपालबाट थेरवाद, महायान र बज्रयान सम्प्रदायका करीब १५० बौद्ध गुरु तथा भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा, कम्बोडिया र लाओसका ७० बौद्ध गुरुको सहभागिता थियो। बौद्धधर्मको पुरानो ग्रन्थ त्रिपिटक तीन भागमा छन्। त्रिपिटक पाली भाषामा लेखिएको महत्त्वपूर्ण ग्रन्थ हो। यो अन्य भाषामा अनुवाद गरिएको छ।

शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि जीवनको अन्तिम समयसम्म दिएका प्रवचन तथा उपदेशलाई बौद्ध शिक्षाका रूपमा सङ्कलन गरिएकाले यसलाई पवित्र कृतिका रूपमा लिइएको छ। उक्त कार्यक्रमका प्रचारप्रसारका लागि साइकलयात्रा र पदयात्रा आज बिहानै गरिएको थियो।

यस्तै २६ माघमा सांस्कृतिक तथा प्रवज्या कार्यक्रम राखिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्