गृहमन्त्री र दक्षिण काेरियाका राजदूतबीच शिष्टाचार भेट

काठमाडाैं। गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्गसिकले आज शिष्टाचार भेट गरेका छन्।

गृह मन्त्रालयमा आज भएको भेटमा पार्कले केही दिनअघि कास्कीको अन्नपूर्ण क्षेत्रमा गएको हिम पहिरोमा परी हराइरहेका आफ्ना चारजना नागरिकको खोजीका विषयमा चासो राखेका थिए।

भेटवार्ताका क्रममा गृहमन्त्री थापाले हिमपहिरो लगत्तै सो क्षेत्रबाट धेरै व्यक्तिको सकुशल उद्धार भएको जानकारी गराउँदै चार कोरियाली र तीन नेपाली अझै हराइरहेको बताए।

उनले उनीहरूको खोजी कार्य जारी रहेको समेत बताए।

गृहमन्त्री थापाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयसमेतको सहयोगमा हराइरहेकाको खोजी गरिरहेको भन्दै छिट्टै उनीहरूको अवस्था पत्ता लाग्ने विश्वास दिलाए।

३ माघमा अन्नपूर्ण हिमाल क्षेत्रमा परेको हिमपातका कारण चार कोरियाली र तीन नेपाली हराइरहेका छन्।

भेटवार्ताका क्रममा गृहमन्त्री थापाले नेपालको विकासमा कोरिया सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे। उनले कोरिया प्रायद्विपमा देखिएको समस्या वार्ता र सम्वादको माध्यमबाट समाधान होस् भन्ने चाहना नेपालको रहेको बताए।

दक्षिण कोरियामा ठूलो संख्यामा नेपाली कामका लागि गएको र कतिपय समस्यामा परेको भन्दै उनीहरूको समस्या समाधानमा विशेष ध्यान दिन राजदूत पार्कसँग गृहमन्त्री थापाले आग्रह गरे।

राजदूत पार्कले नेपाल र कोरियाको सम्बन्धको चर्चा गर्दै नेपालको विकासमा कोरियाले सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।

उनले कोरियाली नागरिक हराएका व्यक्तिको खोजीका लागि नेपाल आएको जानकारी दिँदै उनीहरूलाई नेपाल सरकारले आवश्यक समन्वय गर्ने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्