अरुण तेस्रोमा जुट्यो एक खर्ब, दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी
काठमाडौं। भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ। आयोजनाका लागि एक खर्ब रूपैयाँ बराबरको लगानी जुटेको हो।

आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आयोजनामा नेपाली बैंकले १५ अर्ब रूपैयाँ बढी लगानी गरेका छन् भने बाँकी ८५ अर्ब रूपैयाँ लगानी भने भारतीय बैंकले लगानी गर्ने भएका हुन्।

आयोजना निर्माणका लागि सतलज विद्युत् निगमले एसजेभिएन नामक कम्पनी स्थापना गरेको छ। आयोजनाको हाल २५ प्रतिशत भौतिक प्रगति भएको छ। कूल ९०० मेगावाट क्षमताको सो आयोजनाको वित्तीय व्यवस्थापन भएपछि परियोजनाले थप गति लिने विश्वास गरिएको छ।

एसजेभिएनका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानका अनुसार आयोजनामा नेपालका एभरेष्ट र नबिल बैंकले १५ अर्ब ३६ करोड रूपैयाँ लगानी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यस्तै भारतीय बैंकहरू स्टेट बैंक अफ इन्डिया, पञ्जाब नेशनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय आयात निर्यात बैंक (एक्जिम) ले ८५ अर्ब ९७ करोड ८८ लाख रूपैयाँ ऋण लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ। आयोजनाको प्रवद्र्धक एसजेभिएनले करिब २५ अर्ब रूपैयाँ स्वपूँजीका रूपमा लगानी गरेको छ। सोही पैसाले नै हाल आयोजनाको काम भइरहेको छ।

आयोजनाको कूल लागत एक खर्ब १५ अर्ब रूपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ। आयोजनाको संरचना निर्माणका लागि एक खर्ब चार अर्ब तथा ११ अर्ब रूपैयाँ भने प्रसारण लाइन निर्माणका लागि खर्च गरिनेछ। नेपाल राष्ट्र बैंक र लगानी बोर्डले स्वीकृति दिएपछि औपचारिकरूपमा ऋण लगानी सम्झौता गरिएको हो। प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डले बुधबार नै वित्तीय व्यवस्थापनका प्रवर्द्धक कम्पनीलाई स्वीकृति दिएको छ।

नेपालमा लगानी ल्याउन भारतीय रिजर्भ बैंकले समेत अनुमति दिएको छ। आयोजना आगामी २०७९ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना आगामी २५ वर्षपछि चालू अवस्थामा नै नेपाल सरकारले प्राप्त गर्नेछ।

त्यस्तै प्रसारण लाइन निर्माणका लागि समेत भारतको पञ्जाब नेशनल बैंकले आठ अर्ब रूपैयाँ लगानी गर्ने यसअघि नै सहमति भइसकेको छ। परियोजना विकास सम्झौताअनुसार आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत् निशुल्क प्राप्त गर्नेछ।

आयोजनामा नेपाली बैंकले लगानी गर्ने सहमतिपत्रमा १६ चैत २०७५ मा सम्झौता भएको थियो। प्रवद्र्धक एसजेभिएनले सङ्खुवासभाको मकालु गाउँपालिकामा आयोजना निर्माण गरिरहेको छ।

वित्तीय व्यवस्थापन गरेपछि आयोजनाको सम्झौता अवधि गणना हुनेछ। सतलजभन्दा पहिले परियोजना विकास सम्झौता गरेको माथिल्लो कर्णालीको कुनै काम नभइरहेको बेला सतलजको भने निर्माण प्रगति एवं वित्तीय व्यवस्थापनसमेत गरेर आयोजनालाई गति दिएको हो। शुरुमा आयोजनाको लागत एक खर्ब चार अर्ब हुने भनिए पनि विभिन्न कारणले लागत बढेर रु एक खर्ब १५ अर्ब जति पुगेको छ।

लगानी बोर्ड र सतलज विद्युत् निगमबीच ९ मंसीर २०७१ मा परियोजना विकास सम्झौता (पीडीए) भएको थियो। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हाल आयोजनाको बाँध तथा सुरुङ मार्ग निर्माण भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले २०७५ वैशाखमा स्वीच थिचेर आयोजनाको शिलान्यास गरेका थिए।

हाल आयोजनाको प्रसारण लाइन निर्माणको समेत काम शुरु भएको छ। केही जिल्लामा प्रसारण लाइन प्रभावितलाई मुआब्जा वितरणको कामसमेत भइसकेको छ। आयोजना स्थल सङ्खुवासभाबाट, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ। सो प्रसारण लाइन २१७ किलोमिटर लामो हुनेछ।

प्राधिकरणले निर्माण गरिरहेको ढल्केबरस्थित ४०० केभी क्षमताको सवस्टेशनमा विद्युत् जोडिनेछ। सोही सबस्टेशनबाटै नेपालले पाउने विद्युत् लिनेछ भने बाँकी विद्युत् भारत लगिनेछ।

वित्तीय व्यवस्थापन समारोहमा नेपाल र भारतका बैंकका उच्च अधिकारी उपस्थित थिए। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ठूलो आयोजनामा लगानी गर्न पाउनु आफूहरूका लागि पनि गौरवको विषय भएको बताए।

निर्माणधीन आयोजनामा करिब तीन हजारले रोजगारी पाएका छन् भने स्थानीयवासीलाई मासिक ३० युनिट विद्युत् निशुल्क पाउने व्यवस्था गरिएको छ। अरुण तेस्रो आयोजनाबाट नेपालले २५ वर्षमा कूल तीन खर्ब ४८ अर्ब राजश्व पाउने गरी परियोजना विकास सम्झौता गरिएको छ।

रमेश लम्साल/रासस

प्रतिक्रिया दिनुहोस्