नेपाली मैदानमा भिड्न लागेका तीन देशका कप्तान के भन्छन् ?

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा भोलि, २२ माघमा नेपालले ओमानविरुद्ध खेल्दैछ।

प्रतियोगितामै नेपालको यो पहिलो खेल हो भने अमेरिका र ओमानले यसअघि नै समान आठ खेल खेलिसकेका छन्।

आठमध्ये ६ खेलमा जित हात पारेको अमेरिका १२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ। अमेरिकाले दुई खेल मात्र हारेको छ। ओमानले चार खेल जितेको छ। ओमानले दुई खेल हारेको छ भने दुई खेल नतिजाविहीन बनेको छ। ओमान अहिले चौथो स्थानमा छ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा सात टीम सहभागी छन्। २०२२ सम्म चल्ने लिग–२ को शीर्ष तीनमा रहने टोलीले सीधै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। जहाँ सुपर लिगको पुछारमा रहने पाँच टीम तथा प्लेअफको शीर्ष दुई टीम गरी ९ टोली रहनेछन्।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को पुछारका चार टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नेछन्। प्लेअफमा विश्व क्रिकेट लिगको शीर्ष दुई टीम र आईसीसी क्रिकेट विश्वकप लिग–२ का बाँकी चार टीम गरी ६ टीम हुनेछन्। यस प्रतियोगिताबाट दुई टीमले विश्वकप छनोट प्रतियोगिता खेल्नेछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सबै टीमले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन्। खेल शुरू हुनुअघिको ‘प्रि–म्याच कन्फ्रेन्स’मा तीन देशका कप्तानले आ–आफ्नो तयारी र लक्ष्यबारे यस्तो भनेः

ज्ञानेन्द्र मल्ल

कप्तान, नेपाल

हामीले यो प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौं। पोखरादेखि यहाँसम्म आइपुग्दा हामीले तीन अभ्यास खेल खेल्यौं। समग्रमा हाम्रो तयारी राम्रो रह्यो।

ओमान र अमेरिकाले यसअघि खेलिसकेका भए पनि हामीले त्यसलाई दबाबका रूपमा लिएका छैनौं। बरू हामी खेल्न उत्साहित छौं। पहिलो पटक नेपालमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछौं। त्यो पनि राम्रो प्रतिद्वन्द्वीविरुद्ध खेल्दैछौं। घरेलु मैदानको फाइदा पनि रहेकाले हामी अघि बढ्न सक्छौं भन्ने विश्वास छ।

मुख्य प्रशिक्षकले हामीसँग पहिले नै राजीनामाबारे कुरा गर्नु भएको थियो। त्यसैले हामी अहिले यो प्रतियोगितामा केन्द्रित छौं। उहाँको राजीनामाबारे प्रतियोगिता सकिएपछि कुरा गरौंला।

जीशन मक्सुद

कप्तान, ओमान

नेपाल र अमेरिका राम्रो टीम हुन् भन्ने हामीलाई थाहा छ। हामीले आफ्नो तर्फबाट बेष्ट क्रिकेट खेल्नुपर्छ। हामी राम्रो चुनौती पेश गर्नेछौं। कडा मिहिनेत गरेका छौं। विगत ६ महीनादेखि प्रशिक्षण गरिरहेका छौं।

नियमित क्रिकेट खेलिरहेका छौं। हामीले ओमानमा केही खेल खेल्यौं। टीममा सबै फिट छन्। खेल्न तयार छन्। राम्रो प्रदर्शन गर्न आतुर छन्।

नेपालमा ठूलो संख्यामा दर्शक रंगशाला पुग्नुहुन्छ भन्नेबारे हामी जानकार छौं। यस्तो अवस्थामा कस्तो खालको दबाब हुन्छ भन्ने पनि हामीलाई थाहा छ। त्यसले हामीलाई पनि खेल्न प्रेरित गर्छ।

सौरभ नेत्रभालकर

कप्तान, अमेरिका

१० दिनदेखि हामी मुम्बईमा थियौं। त्यहाँ तीन अभ्यास खेल खेल्यौं। हामी यहाँको कन्डिसन मिल्दो ठाँउमा अभ्यास गरेर आएका छौं। स्पिन बुझ्ने प्रयास गरेका छौं। आज यहाँ पनि अभ्यास खेल खेल्यौं। अझै धेरै कुरा सुधार गर्नुपर्नेछ। नयाँ कन्डिसनमा भिज्ने प्रयास गरिरहेका छौं। हामी नयाँ चुनौती र राम्रो टीमको सामना गर्न उत्साहित छौं।

यहाँको कन्डिसनका कारण नेपालमा क्रिकेट खेल्नु आफैंमा ठूलो चुनौती हो। टीममा प्रायः नयाँ खेलाडी छन्। पहिलो पटक नेपाल आएका छन्। उनीहरूका लागि यो राम्रो चुनौती हो।

भोलि हुने नेपाल र ओमानबीचको खेल हेरेर पक्कै पनि हामीले केही गृहकार्य गर्न पाउँछौं। तर, हरेक दिन पिच कन्डिसन नयाँ हुन्छ। त्यसैअनुसार हामी रणनीति तय गर्नेछौं।

प्रतिक्रिया दिनुहोस्