अहिलेसम्मकै उन्नत मिसाइल प्रदर्शन गर्दै चीनले मनायो वार्षिकोत्सव
बेइजिङ। जन गणतन्त्र चीनले आफ्नो स्थापनाको ७० औं वार्षिकोत्सव मनाएको छ। आज बेइजिङको तियानमेन चोकमा सैनिक परेड सहितको विशाल समारोहबीच वार्षिकोत्सव मनाइएको हो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सो समारोहलाई सम्बोधन गरेका थिए।

उनले ७० वर्षदेखि चिनियाँ जनताले सँगसँगै मिलेर अथक प्रयाससहित विशाल उपलब्धि प्राप्त गरेको धारणा राखे। उनले कुनै पनि शक्तिले चीनको स्थान तथा चिनियाँ जनता र चिनियाँ राष्ट्रको अघि बढ्दै गरेको पाइलालाई रोक्न नसक्ने दावी गरे।

राष्ट्रपति सीले समाजवादी चीन विश्वको पूर्वी भागमा उभिएको र कुनै पनि शक्तिले चीनको स्थान हल्लाउन नसक्ने उल्लेख गरे ।

चीनले ‘शान्तिपूर्ण एकिकरण, एक देश दुई व्यवस्था’ कार्यनीतिमा अडिग रहेर हङकङ तथा मकाउको स्थायी समृद्ध र स्थिरतालाई कायम राख्ने तथा थाइवान जल डमरुका दुई किनारा बीचको सम्बन्धको शान्तिपूर्ण विकासलाई अघि बढाउनेमा सीले जोड दिए।

समारोहमा भव्य सैनिक परेड आयोजना गरिएको थियो।

चीनको राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजना गरिने सैनिक परेड चिनियाँ जन सेनाको शक्ति प्रदर्शन पनि हो। परेड समारोहमा संलग्न सेनाले छाङ आन सडकमा पंक्तिबद्ध भएर राष्ट्राध्यक्ष सी चिन फिङलाई सलाम गरेका थिए।

राष्ट्राध्यक्ष सी चिन फिङले चीनद्वारा निर्मित लाल झण्डा मार्काको गाडीमा बसेर छाङ आन सडकमा चिनियाँ सेनाको परेड हेरेका थिए।

सैनिक परेड समारोहमा १५ हजार सैनिकले भाग लिएका थिए भने एक सय ६० भन्दा बढी विभिन्न किसिमका विमानहरु र पाँच सय ८० भन्दा बढी सैनिक उपकरण प्रदर्शनमा राखिएका थिए।

समारोहमा चीनले निर्माण गरेको अहिलेसम्मकै उन्नत आणविक हतियार इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल, डीएफ-७१ प्रदर्शन गरिएको थियो। - विभिन्न एजेन्सीको सहयोगमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्