बलात्कारका फरार अभियुक्त कुवेत जाँदै गर्दा विमानस्थलबाट समातिए

काठमाडाैं। आठ महीनाअघि धादिङमा १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका एक व्यक्ति वैदेशिक रोजगारीमा जाने क्रममा आज पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज दिउँसो कुवेत जान लागेका धादिङ गजुरी गाउँपालिका-८, बस्नेतगाउँका २८ वर्षीय हरिकृष्ण भन्ने हेमनसिंह बस्नेतलाई विमानस्थलबाटै पक्राउ गरेको हो।

बाटो खन्ने काममा स्काभेटर चालक रहेका बस्नेतले १४ जेठ २०७६ मा स्थानीय १६ वर्षीया बालिका आफ्नै घरमा सुतिरहेको समयमा राति ढोका फोडेर जबर्जस्ती करणी गरेकाे प्रहरीकाे भनाइ छ।

जबर्जस्ती करणी गरेलगत्तै उनी फरार थिए। उनी लामो समय भारतका विभिन्न स्थानमा लुकेर बसेका थिए।

केही समयअघि मात्रै उनी वैदेशिक रोजगारीमा जाने भन्दै नेपाल आएका थिए। सीआईबीले उनलाई पक्राउ गरी कानूनी कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय धादिङ पठाएको छ।

प्रतिक्रिया दिनुहोस्