१५ माघ २०७६

अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’,
वरिष्ठ नेता कमरेडहरू, सचिवालयका सदस्य कमरेडहरू’
र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्य कमरेडहरू !

आज हामी लामो समयको अन्तरालपछि केन्द्रीय कमिटीको दोस्रो बैठकमा उपस्थित भएका छौं । हामी सबैले महशुस गरेको कुरा हो, यो दोस्रो बैठक अस्वभाविक ढंगले बिलम्व हुन गयो । यो यति ढिलो हुन हुने थिएन । पार्टी एकता र एकीकरणको प्रक्रियामा विभिन्न खास कारणहरू भए, जसले केन्द्रीय कमिटीको बैठकसमक्ष राख्नुपर्ने विषयहरूलाई हामीले आवश्यक गति दिन नसक्दा नै बैठक बिलम्व भयो ।

पार्टी एकीकरणपछि नयाँ चरणमा छौं

एउटा कुराको भ्रमचाहिँ रहनु हुँदैन कि सरकारको कारणले वा प्रधानमन्त्रीको कारणले, प्र्रधानमन्त्रीले समय दिन नसकेर जस्ता कुराहरूले यो बिलम्व या ढिला भयो ? यो होइन, विविध कारणले बिलम्व भयो । यसमा हाम्रो गंभीरताका साथ ध्यान गएको छ । यस्तो हुन हुने थिएन भन्ने महशुस पनि गरिएको छ । भविष्यमा यस्तो बिलम्व नहुने कुरा स्पष्ट पनि छ । म यो कुरा शुरुमै स्पष्ट पार्न चाहन्छु ।

यतिबेला यो दोस्रो बैठक आयोजना भएपनि बैठकका रुपमा पहिलो बैठक हामीले एकीकरणका प्रक्रियाको निम्ति एउटा बेग्लै उल्लासका साथ सम्पन्न गरेका थियौं । अत्यन्त संक्षिप्त, छोटो तयारी, तर दूरगामी महत्वका ठूला ऐतिहासिक निर्णयका साथ पहिलो बैठक सम्पन्न गरेका थियौं, जसले गर्दा हासिल भएका परिणामहरू यहाँहरूलाई अवगत नै छन् । यसपटक हामी विधिवत् दोस्रो बैठक संचालन गर्न जुटेका छौं । यो बैठक संचालन गर्ने क्रममा हामीले पहिलो बैठकले जुन नयाँपन र उर्जा दिएको थियो, त्यसलाई सुदृढ गर्ने, त्यसलाई सरल बनाउने, कार्यान्वयन गर्ने र अगाडि बढ्ने हो । यो अभिभाराका साथ यहाँसम्म आइपुग्दा पार्टीले एउटा चरण पार गरेको छ । अब हामी अर्को चरणमा प्रवेश गरेका छौं । केन्द्रीय कमिटीको यस बैठकमा म सम्पूर्ण कमरेडहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु । सबै कमरेडहरूलाई धेरै धेरै स्वागत गर्दछु ।

यतिबेला हामीले आन्दोलनलाई यस महान् सफलतासम्म ल्याई पुर्‍याउन योगदान गर्ने हाम्रा आदरणीय सहिदहरू र अग्रजहरूलाई स्मरण गर्न र श्रद्धासुमन अपर्ण गर्नु आवश्यक छ । यस आन्दोलनमा अत्यन्तै धेरै ठूलो संख्यामा बलिदान पनि भएको छ । आफ्नो जीवन नै आहूति दिने, अंगभंग हुने, घाइते हुने, पारिवारिक अवस्था छिन्नभिन्न हुनेदेखि लिएर अनेक प्रकारका पीडा, कठिनाइका साथ विभिन्न समयमा विभिन्न नेताहरूले वैचारिक र सांगठनिक हिसाबले असाधारण र महत्वपूर्ण योगदान गर्नुभएको छ । संस्थापक कमरेड पुष्पलाल, जननेता मदन भण्डारी, आदरणीय मनमोहन अधिकारीलगायत थुप्रै नेताहरूलाई हामी यहाँ स्मरण गर्न सक्दछौं । यतिबेला म सबै सहिदहरूप्रति श्रद्धासुमन अपर्ण गर्दै अग्रजहरूप्रति सम्मान अर्पण गर्न चाहन्छु ।

सात दशक लामो निष्ठाको आन्दोलन

हामीसँग ७१ वर्षका संगठित अनुभवहरू छन् । संगठितढंगले हामीले सात दशकदेखि वैचारिक, राजनीतिक, सांगठनिक र व्यवहारिक आन्दोलनका क्षेत्रहरूलाई अनेक उतारचढावहरूका साथ झेलेका छौं । हामीसँग प्रतिबन्धित अवस्थाका अनुभवहरू छन् । दमनका अनुभवहरू छन् । जेलनेलका अनुभवहरू छन् । निर्वासनका अनुभवहरू छन् । लडाईंका अनुभवहरू छन् । हामीसँग अनेक प्रकारका पीडाका अनुभवहरू छन् । हामीले गुमाएका अनुभव पनि छन् र सफलता हासिल गरेका अनुभूति पनि छन् । हामीले प्रतिबन्धित अवस्थामा, प्रतिपक्षमा बसेर पनि अनुभव हासिल गरेका छौं । हामीले सरकारमा पुगेर, सरकारमा सहभागी भएर सहभागीका हैसियतले पनि अनुभव हासिल गरेका छौं । र, हामीले सरकार संचालन गरेर, सरकारको नेतृत्व गरेको अनुभव पनि हासिल गरेका छौं । अल्पमतका सरकार, अरुसँग मिलिजुली बनाएका सरकार अथवा अहिले बहुमतको सरकारको पनि अनुभव गरिरहेका छौं । हामीले विगतका वर्षहरूमा विभाजनका पीडा भोगेका छौं । एकता र सफलताका सुखानुभूति र उपलब्धि पनि हासिल गरेका छौं । तसर्थः हाम्रो आन्दोलन समृद्ध र निष्ठाको आन्दोलन हो । हाम्रो आन्दोलनले देशभित्रका सफलता वा असफलता मात्रै होइन, अन्तर्राष्ट्रिय वामपन्थी आन्दोलन अथवा समाजवादी आन्दोलनका विभिन्न उतारचढावहरू तथा सफलता वा असफलताहरू पनि देखेको छ, त्यसको अनुभव पनि गरेको छ । हाम्रो आन्दोलनले कम्युनिष्ट आन्दोलनको मात्रै होइन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनका सफलता वा असफलता सँगसँगै तीब्र गतिमा अगाडि बढिरहेको, तीब्र गतिमा परिवर्तन भइरहेको २० औं शताब्दी र २१औं शताब्दीका अनुभवहरू हासिल गरेको छ, विज्ञान प्रविधि, संचार र यातायातको अत्यन्त तीब्र विकासले समाजमा प्रभाव पारेको छ । त्यसले ल्याएको परिवर्तन तथा खोज अध्ययन र अनुसन्धानको सन्र्दभमा विज्ञानको क्षेत्रमा उठेका, उठाइएका कुराहरू र मानवजातीले प्राप्त गरेका उपलब्धिहरू एवं त्यसले समाजमा पारेको असरहरूलाई अनुभव पनि गरेको छ । कला, संस्कृति, साहित्य लगायतका तमाम कुराहरूमा आएको परिवर्तन– यी सारा कुराहरू पनि हामीले अनुभव गरेका छौं ।

हाम्रो आफ्नै भूगोल, आफ्नै सभ्यता र विकासको गौरवपूर्ण इतिहास रहेको छ । यस क्रममा हाम्रा गौरवहरू, परम्पराहरू, गौरवपूर्ण साँस्कृतिक पक्षहरू, हाम्रो सभ्यताका विविध पक्षहरू, हाम्रा दार्शनिक पक्षहरू र ती कुराहरूलाई हाम्रो आन्दोलनले देखेको छ, बुझेकोे छ र बेहोरेको छ । यी समग्र कुराहरूको अनुभवमा आधारित भएर अघि बढ्ने क्रममा आज केन्द्रमा लगभग दुई तिहाइको सरकार, ६ वटा प्रदेशहरूमा अत्यधिक बहुमतको सरकार र सातमध्ये एउटा प्र्रदेशमा जहाँ हामी कमजोर भनिएकोमा पनि हामी प्रमुख पार्टीको हैसियतमा क्रियाशील रहेका छौं । नेपालको राजनीतिमा अहिले विभिन्न उतारचढाव झेलेर आज हामी एकीकृत पार्टीका रुपमा उपस्थित छौं । जहाँबाट पार्टी स्थापना भएको थियो एउटै पार्टीको रुपमा, एकताबद्ध भएर हामी फेरि त्यहीँ ठाउँमा पुगेका छौं । बीचको विभाजनका पीडाहरूलाई, विभाजनले गर्दा भोग्नुपरेका असफलताका अनेक भोगाइहरूलाई समीक्षा गरेर नै आज यो एकताबद्ध पार्टी बनाउन हामी सफल भएका छौं । र, योे आकस्मिक रुपमा होइन, अध्ययन गरेर र यसका आधारहरू मूलतः तयार गरेर, मुख्य आधारहरू तयार गरेर, वैचारिक आधार, सांगठानिक आधार, व्यवहारिक आधार र मुख्य रुपमा पूरा गरेर अनि यसलाई सबल, समृद्ध र खँदिलो बनाउदैँ जाने संकल्पका साथ हामीले पार्टी एकता गरेका छौं । र, आज एकीकरणको कार्य लगभग निष्कर्षतिर पुर्‍याइसकेका छौं । यो मूलतः पूरा भइसकेको छ । यस्तो उत्साहजनक अवस्थामा हामीले पार्टीको नेतृत्व गरिरहेका छौं । संसद संचालन गरिरहेका छौं । सरकार संचालन गरिरहेका छौं, स्थानीय तहहरू संचालन गरिरहेका छौं र तीनै तहका सरकारहरू संचालन गरिरहेका छौं ।

हामीले संविधान कार्यान्वयनका सन्दर्भमा अत्यन्त महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं । थुप्रै कामहरू भएका छन् । यसक्रममा कतिपय अस्पष्टताहरू आएका छन् । सरकारका काममा कतिपय कमी कमजोरी पनि भएका हुन सक्छन् । पर्याप्त र अपेक्षा गरेजति काम नभएको पनि हुनसक्छ किनभने यसमा हामी सन्तोेष गर्न पनि त सक्दैनौं !

म कमरेडहरूसमक्ष के काम कसरी गरेका छौं ? के उपलब्धि कसरी हासिल गरेका छौं र अहिले कहाँनेर छौं भन्ने कुरा तथ्यहरूका आधारमा राख्ने छु । हामी काम नगरी बसेका वा उपलब्धि हासिल नगरी बसेका वा उपलब्धिहरूमा पछाडि परेका होइनौं । निर्वाचनभन्दा पछिका यी दुई वर्षमा हामीले असाधारण उपलब्धिहरू हासिल गरेका छौं ।

डरलाग्दो प्रचारयुद्ध – प्रचार आक्रमण !

म कमरेडहरूलाई भन्न चाहन्छु, हाम्रा विरुद्ध प्रचारयुद्ध डरलाग्दो गरी छेडिएको छ । युद्ध होइन, प्रचार आक्रमण नै छेडिएको छ । युद्ध त दुई तीनवटा पक्षबीच हुन्छ, तर हामीले कुनै युद्ध गरेका छैनौं । यो हामीमाथिको आक्रमण मात्र हो । तर हामीले अनावश्यक वादविवाद गरेर होइन, हामी आफ्ना उपलब्धिहरूबाट, कामका परिणामहरूबाट र नतिजाहरूबाट जवाफ दिदैँ आएका छौं । अब पनि नतिजाहरूबाट हामी जवाफ दिन्छौं । हामी जवाफ दिनसक्ने गरी प्रगति र सफलताको ठाउँमा नै छौं ।

लोकतन्त्रप्रति हाम्रो निष्ठाको सवालमा प्रश्न उठाउने गरिएको छ । तर हामी वैचारिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर २१ औं शताब्दीमा मानवजातिले वैचारिक क्षेत्रमा, दार्शनिक क्षेत्रमा र व्यवहारिक क्षेत्रमा प्राप्त गरेका जेजति उपलब्धिहरू, मूल्यहरू र मान्यताहरू छन्, तिनीहरूको दाँजोमा उभिएर र तिनीहरूको कसीमा दाँजिएर काम गर्न चाहन्छौं । संयुक्त राष्ट्र संघले भनेका उच्च मापदण्ड, संयुक्त राष्ट्र संघको बडापत्र वा अरु अन्तर्राष्ट्रिय जगतले निकालेका अत्यधिक उच्चतम् र उन्नत राजनीतिक प्रणाली, सामाजिक प्रबन्ध आदिको सम्बन्धमा योे बाटो ठीक हो, यस बाटोबाट अगाडि बढ्नुपर्छ र यी लक्ष्यका साथ अगाडि जानुपर्छ भन्ने जुन कुराहरू अगाडि सारिएको छ, त्यस मापदण्ड र मूल्यहरूमा हामी प्रतिस्पर्धा गर्न चाहन्छौं । त्यस कसीमा हामी अगाडि बढ्न चाहन्छौं । हामी निःसन्देह यी मापदण्डहरूमा खरो अभ्यासका साथ अगाडि बढ्न चाहन्छौं ।

म भन्न चाहन्छु, हामीले लोकतन्त्र, लोकतान्त्रिक प्रणाली, प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली अथवा मानवअधिकारको प्रश्नमा अथवा स्वतन्त्रताका हकहरूको प्रश्नमा अथवा शान्तिपूर्ण परिवर्तनकोे बाटोमा यी कुराहरू हामीले केवल तत्कालीन कार्यनीतिका हिसाबले मात्र उपयोग गरेका होइनौं । यी कुराहरूलाई हामीले हाम्रो आर्दशका रुपमा र हामीले आफ्नो अनुभवका हिसाबले नै अंगिकार गर्‍यौं । आज शान्तिपूर्ण ढंगले समाज परिवर्तन गर्न सकिन्छ भन्ने निष्कर्षका साथ अघि बढिरहेका छौं ।

हाम्रो समाज शान्तिपूर्ण ढंगले अगाडि बढ्न सक्छ । नेपालको राजनीतिमा विभिन्नले विभिन्न समयमा हतियार उठाएको अनुभव छ । विभिन्न समयमा हतियार उठाइएको छ, जस्तोकि नेपाली कांग्रेसले २००७ सालमा उठायो, नेपाली कांग्रेसले २०२८/०२९ सालमा उठायो र अरु विभिन्न समयमा हतियार उठाएको हो । नेकपाले पनि विभिन्न समयमा हतियार उठायो । विभिन्न समूहहरूले पनि समय समयमा हतियार उठाए । तर, पछि निष्कर्षमा ती सबै शान्तिपूर्ण बाटोमा आइपुगेका छन् । तिनको सान्दर्भिकता वा अरु पक्षहरूमा बहस गर्न सकिएला । ती आफ्नो ठाउँमा कति आवश्यक वा कति अनावश्यक थिए भन्ने बहस हुनसक्छ । तर, मैले हिजो पनि पार्लियामेन्टमा बोल्दा अलिकति भनेको थिएँ, नेपालको राजनीति र नेपाली समाजको ट्रेण्ड अन्ततोगत्वा शान्तिपूर्ण बाटोमा वा संझौतामा नै आएको पाइन्छ । र, सहमतिका साथ अगाडि बढ्ने तथा आधारभूत सहमतिका साथ अगाडि बढ्ने बाटोमा नै आएको देख्न सकिन्छ ।

हामीले आज अन्तर्राष्ट्रिय स्ट्याण्डर्डका मूल्य मान्यताहरू अनुरुप, राजनीतिक प्रणाली र लोकतान्त्रिक विशेषताहरूलाई जनताको जनवाद नामाकरण गरेका छौं । नेपाली समाजको परिवर्तनको सम्बन्धमा बहुदलीय राजनीतिक प्रणाली, आवधिक निर्वाचन, स्वतन्त्र न्यायालय, सार्वभौमसत्ता जनतामा रहेको व्यवस्था र शक्ति पृथकीकरणको सिद्धान्त, कार्यकारीभित्र पनि विभिन्न प्रकारले शक्ति विकेन्द्रित र विभाजित गर्ने ढंगले जाने परिपाटी – यसलाई हामी पारदर्शी ढंगले अगाडि बढाएर अंगीकार गरेका छौं ।

हाम्रो सम्बन्धमा प्रेस स्वतन्त्रताका बारेमा वा स्वतन्त्रता र मौलिक हकहरूको बारेमा प्रश्न उठ्नु वास्तवमा निरर्थक कुरा हो । जसका निम्ति हामीले यति लामो समयदेखि संघर्ष गरेका छौं, यति लामो समयदेखि लडेर आएका छौं र यसलाई हामीले आफ्नो विश्वासका रुपमा, आफ्नो आर्दशका रुपमा र मानव अधिकारको विषयलाई त अझ गम्भीरताका साथ नै अपनाएका छौं । त्यसकारण हामीले लोकतन्त्रलाई एउटा पूर्ण लोकतन्त्र (कम्प्रिहेन्सिभ डेमोक्रेसी) का रुपमा अपनाएका छौं । पूर्ण लोकतन्त्र, जहाँ राजनीतिक अधिकारको मात्रै प्रश्न होइन, सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारहरू सुनिश्चित गरिएको हुन्छ । समृद्धि मात्रै होइन, समानतासहितको समृद्धि हुन्छ । सामाजिक न्यायसहितको समृद्धि हुन्छ । हामीले यस किसिमको लोकतन्त्र र समृद्धिको पक्षपोषण गरेका छौं । यसमा स्पष्ट हुनु आवश्यक छ ।

गरिबी त छ, तर भोकमरी छैन

हामीले अभ्यास गरिरहेको सम्पूर्ण लोकतन्त्रमा सामाजिक न्यायसहितको स्वतन्त्रता अथवा मौलिक हक अधिकारसहितको मानवीय हक अधिकारसम्म पहुँचका साथ सबैका लागि सुरक्षित रहने शान्तिपूर्ण समाज, सुशासनयुक्त समाज, आधुनिक समाज र सम्मानयुक्त समाज स्थापनामा जोड गरिरहेका छांै । जहाँ कोही पछाडि नपरोस्, कुनै क्षेत्र, कुनै वर्ग, कुनै तह, कुनै तप्का पनि पछाडि नपरोस् । यस हिसाबले हामीले भोकमरीको विरोध गरिरहँदा प्रतिव्यक्ति आय वा कूल राष्ट्रिय आय मात्रैको कुरा होइन । हरेक नागरिक कोही पनि भोको नपरोस् । यस हिसाबले एक ढंगले भन्ने हो भने नेपालमा भोकमरीको अवस्थाको अन्त्य गरिएको छ भने पनि हुन्छ । अर्थात्, हामीले भनेका छौं नेपाल गरिब छ, गरिबी छ, तर भोकमरी छैन । किनभने कसैलाई भोको पर्न नदिने, कसैलाई भोकै मर्न नदिने नीति र प्रतिबद्धता हाम्रो सरकारले लिएको छ । हामीले सडकमा मानिस अलपत्र पर्न दिएका छैनौं । सडक मानव हुन दिएका छैनौं । सडक बालबालिकाको स्थितिको अन्त्य गरेका छौं । केही समययता हामीले सडक बालबालिका भन्ने जुन स्थिति थियो, त्यसको अहिले अन्त्य गरेका छौं । सडक मानवको अवस्था अन्त्य गरेका छौंं र कोही पनि भोकै पर्ने वा कसैले पनि खान नपाउने वा भोकले मर्ने स्थितिको अन्त्य गरेका छौं । वास्तवमा विश्व समुदाय यसमा खुशी हुनुपर्ने हो कि यति छोटो समयमा हामीले यसप्रकारको लोकतन्त्रको अभ्यासलाई अगाडि बढाएका छौं ।

हामीले समृद्धि हासिल गरिसक्यौं, विकास गरिसक्यौं भन्ने होइन । हामी विकासको बाटोमा छौं । समृद्धि हासिल गर्ने बाटोमा छौं । हामी सुशासन कायम गर्ने बाटोमा छौं । भ्रष्टाचार नियन्त्रण गर्ने, अनियमितता रोक्ने र अन्त्य गर्ने बाटोमा छौं । यी सबै कुरा भइसके भन्ने होइन । हामीले बाटो बनाइसक्यौं, सबै क्षेत्रमा सबै काम गरिसक्यौं, अब हामी विकसित भइसक्यौं अथवा हाम्रा सम्पूर्ण पूर्वाधार र आधारहरू तयार भइसके भन्ने पनि होइन । तर, हाम्रा प्रयासहरू कतापट्टि केन्द्रित छन् त ? भर्खर दुई वर्ष हुन लाग्यो । चुनावभन्दा पछि हाम्रो नेतृत्वमा यो सरकार बनेको दुई वर्ष हुन लाग्यो र यी दुई वर्षको बीचमा हामीले कुन बाटो लिएका छौं, कुन दिशा लिएका छौं र कुन गति लिएका छौं त? यो आजको मुख्य प्रश्न हो ।

हामीले यस बर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्ष भनेका छौं । हिजो मैले संसदमा बोल्दा नेपाल भ्रमण वर्षको शुरुमा कोरोना भाइरसतिर संकेत गर्दै हाम्रो यस प्रयासमा अलिकति धक्का पर्न जाने लक्षण देखियो भन्ने कुरा बोलेको थिएँ । त्यसलाई पनि कसले कसरी बुझ्यो ? यो बेग्लै कुरा हो । कतिले त धक्का, कहाँको धक्का ? के को धक्का भन्ने ढंगले पनि कुरा गर्नु भयो !

तर हाम्रो सजगता छ, भरसक ठूलो धक्का पर्न नदिने कोसिस रहेको छ । तर, त्यसको केही असर त पर्ने नै भयो । हामी धेरै ठूलो धक्का पर्न दिदैनौं । हामीकहाँ त्यस भाइरसको लक्षण एकजनामा मात्रै देखिएको छ, एकजनामा देखिएको त्यस लक्षणलाई हामीले कसरी नियन्त्रण गर्ने ? हामी अत्यन्त सावधान र गंभीर छौं । जबकि त्यो एकजना पनि बिरामीका रुपमा होइन, ल्बड टेस्टमा मात्रै देखिएको छ, बिमार देखिएको छैन । यो भाइरसको संक्रमण रुघाखोकीजस्तै हो । त्यसकारण यो मत्थर भएर जाँदैन, यो एकदम बढ्छ भन्ने मात्रै होइन । हामीले सचेतता अपनाउन जरुरी छ । हामी आफूले सावधानी अपनाउने र अरुलाई पनि सावधानी अपनाउन अभियानका रुपमा सामाजिक जागरण ल्याउने कुरामा भूमिका खेल्नु जरुरी छ । हाम्रो पार्टीका कमिटीहरू, हाम्रा जननिर्वाचित संस्थाहरू, जननिर्वाचित प्रतिनिधिहरू, पार्टी कार्यकर्ताहरू र अन्य निकायहरू यी सबै निकायहरूलाई हामीले सजग बनाउने र सजगता अपनाउने कामको अभियन्ताका रुपमा आफ्नो संगठन र आफ्ना प्रतिनिधिहरूलाई परिचालन गर्नु जरुरी छ ।

म भर्खरै प्रारम्भ भएको नयाँ वर्ष २०२० को अवसरमा यहाँहरू सबैमा सुस्वास्थ्यको कामना पनि गर्न चाहन्छु । सुस्वास्थ्यका निम्ति यसमा पूर्व सावधानी अपनाउन पनि आग्रह गर्न चाहन्छु । हामी सबैले सावधानी अपनाउन र पहिले नै प्रतिरोधात्मक प्रबन्ध मिलाउन आवश्यक छ । यो भाइरसको संक्रमण फैलिन नपाओस्, यस्तो संक्रमणका विरामीहरू नहोऊन भन्ने कुरामा ध्यान दिने र अरु सामाजिक जागरणका कामहरू गर्नुपर्ने अवस्था रहेको छ । म यस बैठकमा यहाँहरू सबैमा यसबारे सचेत, सजग र सक्रिय भएर स्वस्थ नागरिक जीवनको सुनिश्चितताको लागि भूमिका निर्वाह गर्न विशेष जोड दिन चाहन्छु ।

वैचारिक स्पष्टता – सफलताको खास आधार

वैचारिक प्रश्नमा एक ढंगको सक्रमणकालमा छौं । तर वैचारिक स्पष्टताबिना वा गन्तव्यको स्पष्टताबिना, कहाँ पुग्ने हो भन्ने कुराको स्पष्टताबिना र लक्षित ठाउँमा पुग्नका लागि कुन बाटो कसरी हिड्ने हो भन्ने स्पष्टताबिना हामी अगाडि बढ्न सक्दैनौं र गन्तव्यमा पुग्न पनि सक्दैनौं । यो भनेको वैचारिक प्रश्नमा हाम्रो बहुतै स्पष्टता हुन जरुरी छ । म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, वैचारिक स्पष्टताका लागि अध्ययन गर्नु र आँखा खोलेर चल्नु आवश्यक हुन्छ । विगतसँग टाँसिएर होइन, अहिलेका यथार्थहरूसँग जोडिएर र भविष्यतर्फ उन्मुख भएर अर्थात् विश्लेषण गरेर अब कसरी अगाडि बढ्न सकिन्छ ? यसमा स्पष्ट हुनैपर्दछ । हामी ‘आइडोलोजिकल’ पूर्वाग्रहको चपेटामा पनि छौं । यस कुरालाई पनि बुझ्नु पर्छ र यसबाट हच्किने होइन, यसलाई हामीले आफ्नो व्यवहारद्वारा पराजित गर्नुपर्दछ । उचित तर्कहरूद्वारा पराजित गर्नुपर्दछ । र, हामी असफल हुने बाटो होइन, सफल हुने बाटो अवलम्बन गरेर स्पष्टताका साथ अघि बढ्नुपर्दछ ।

मैले भन्ने गरेको छु, भावनाले मात्र वा भावनामा बगेर क्रान्ति वा परिवर्तन हुँदैन र उपलब्धि पनि हासिल हुँदैन । यथार्थमा उभिएर, परिस्थितिअनुसार अगाडि बढेर र स्पष्ट भएर मात्रै हामीले सफलता प्राप्त गर्न सक्छौं । त्यसकारण म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, हामीले कतिपय आकर्षक कुराहरू मात्रै गरेको होइन, ती आकर्षक कुराहरूका आधारमा निर्धारित गन्तव्यहरूमा कसरी पुग्नसक्छौं ? यद्यपि कहिले कहिले हामीलाई अलिकति क्रान्तिकारी कुरा गर्न मन लाग्ने होला ! तर अहिलेको अवस्थामा ती कति व्यवहारिक छन् ? यसको हेक्का राखेर चल्नुपर्दछ । हामी आजको यथार्थमा उभिएर अगाडि बढ्नुपर्छ, हाम्रो क्रान्तिको स्वरुपलाई बुझेर अगाडि बढ्न जरुरी हुन्छ । तदनुसारका हाम्रा नीतिहरू, तदनुसारका हाम्रो नीतिलाई बोक्ने खालका वा प्रतिनिधित्व गर्ने खालका अभिव्यक्तिहरू हुनुपर्दछ, जसले जनतालाई भ्रमित नबनाओस् र त्रसित पनि नबनाओस् ! जनतालाई भ्रमित र त्रसित होइन, जनतालाई सचेत र स्पष्ट पारेर ढुक्कको स्थिति बनाएर, र आत्मविश्वास जगाएर अगाडि बढ्न प्रेरित गरोस् । यस प्रकारको नीतिका साथ हामी अगाडि बढ्न जरुरी रहेको छ ।

विश्वव्यापी सूचकहरूमा नेपालको प्रगति

यो सरकारले केही गरेन भन्ने कुराहरूको जुन हल्ला चल्ने गरेको छ, त्यस बारेमा म कमरेडहरूसाथ अलिकति केही समय लिएर केही झलक मात्रै प्रस्तुत गर्ने अनुमति चाहन्छु । हामीले कसरी काम गरेका छौं र विश्वका मानकहरू वा हाम्रा आफ्नै मानकहरूबाट उपलब्धि केकस्ता देखिएका छन् त ? सरकारले एउटा पनि काम गरेन भन्ने खालका जुन कुराहरू कहिलेकहिले विभिन्न पक्षहरूले उठाउने गरेका छन्, यसमा स्पष्ट हुनुपर्ने खाँचो रहेको छ । यस किसिमले हाम्रा कतिपय साथीहरूले पनि बोलेको पाइन्छ । तसर्थः यहाँ मैले बोलेका कुराहरू केही दिनभित्रै पुस्तिकाका रुपमा कमरेडहरूसमक्ष पुर्‍याउँला । त्यसो भएपछि अरु थुप्रै कुराहरूमा स्पष्ट हुन सहयोग पुग्नेछ । अहिले संक्षिप्तमा भन्नुपर्दा विश्वका विभिन्न सूचकहरूमा नेपालको स्थिति के छ त ? कुनै पनि सूचकहरूमा नेपाल नकारात्मक अवस्थामा छैन । यसमा अगाडि बढेन र पछाडि पो सर्‍यो भन्नेजस्तो अवस्था अथवा अगाडिबाट पछाडि या तल झर्‍यो भन्ने एउटा पनि त्यस्तो सूचक उपलब्ध रहेको छैन । यस्ता हरेक सूचकहरूले हाम्रो प्रगति, अग्रगति र उपलब्धिको स्थिति नै देखाइरहेका छन् ।

म केही सूचकहरू मात्रै यहाँ भन्न चाहन्छु । जस्तो कि,

यसरी विश्व सूचकहरूमा नेपाल अनेक कोणबाट अगाडि बढेको स्पष्ट छ । नेगेटिभ सूचकहरू छैनन् । यो हाम्रा निम्ति धेरै खुसीको कुरा हो, गर्वको कुरा हो कि जननिर्वाचित कम्युनिष्ट सरकारले कुनै पनि मानकलाई ‘माइनस’ वा नकारात्मक दिशामा जान दिइएको छैन । सबै सूचकहरूमा देशलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेर ‘प्लस’मा अगाडि बढाएको छ ।

असाधारण उपलब्धिहरूको सामान्य सिंहावलोकन