भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्वाचित

काठमाडाैं। नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। ‘राम बोस’को नामले चिनिने श्रेष्ठले विजेन्द्रविक्रम शाहलाई दुई मतले पराजित गरेका हुन्।

श्रेष्ठ चार वर्षका लागि संघको अध्यक्षमा निर्वाचित भएका हुन्। उनी यसअघि संघको उपाध्यक्ष थिए।

श्रेष्ठले ३० मत ल्याए भने उनका प्रत्यासी शाहले २८ मत पाए। संघको पाँच उपाध्यक्ष, महासचिव, सहसचिव र कोषाध्यक्ष भने निर्विरोध निर्वाचित भए।

उपाध्यक्षमा पार्थसारथी सेन गुप्त, जगदिश प्रधान, समसुद्दिन सिद्धिकी, राजनकुमार बड्गामी र रुकेश तण्डुकार चयन भए।

महासचिवमा तिलकबहादुर राउत सर्वसम्मत भए भने सहसचिवमा रामेश्वर श्रेष्ठ र कोषाध्यक्षमा रुद्रबहादुर न्यौपाने सर्वसम्मत चयन भए।

सचिवमा कुमारमान श्रेष्ठ निर्वाचित भए। उनले ३३ मत पाउँदा उनका प्रत्यासी विपेन्द्र महर्जनले २४ मत ल्याए।

१० सदस्यमध्ये गीता श्रेष्ठ महिला सदस्यतर्फ निर्विरोध भइन्। अन्य सदस्यहरूमा शिवनारायण चौधरी ५१, गोपालबहादुर श्रेष्ठ ५०, रत्नमान माली ४४, महेशप्रसाद यादव ४३, शत्रुघन यादव ३९, दीपेन्द्रकुमार ठाकुर ३६, प्रेमकुमार कौशल ३६, राजेन्द्र प्रधान ३५ र अजय शाहीले ३४ मत ल्याउँदै निर्वाचित भए।

अजय र उमेश सि.के.को ३४/३४ मत प्राप्त भएकोमा गोला प्रथाबाट अजयले सदस्यमा बाजी मारे।

सदस्यतर्फ १५ जनाको उम्मेदवारी परेको थियो। २३ कार्यसमिति सदस्य, तीन प्राविधिक, एक ओलम्पियन र २१ जिल्लाका ४२ गरी ६९ प्रतिनिधि रहेकोमा ६० मत खसेको थियो, जसमा दुई मत बदर भएको थियो।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैसँग मिलेर भारोत्तोलनको विकास र विस्तारमा लाग्ने तथा संघको आफ्नै भवन निर्माण गर्नेतर्फ अग्रसर हुने बताए।

प्रतिक्रिया दिनुहोस्