कञ्चनपुरमा जंगली हात्तीद्वारा गहुँ बालीमा क्षति

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जंगली हात्तीको बथानले क्षति पुर्‍याएकाे छ। तीन दिनदेखि करीब २० काे संख्यामा रहेको हात्तीको बथानले गहुँ, केराउ, मसुरोलगायतको बालीमा नोक्सान पुर्‍याएको हो।

हात्तीको बथान रातिको बेला स्थानीय किसानको खेतमा छिरेर बालीमा क्षति पुर्‍याउँदै आएको छ। शुक्लाफाँटा–८ मा मात्रै हात्तीको बथानले सातजना किसानले खेतमा लगाएको गहुँलगायतको बालीमा क्षति गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए। सामुदायिक वन क्षेत्रमा लगाइएको १५ मिटर ग्याबिन तारजालीसमेत हात्तीको बथानले चुँडालेको छ।

हात्तीको बथान साँझ नपर्दै नजिकैका सामुदायिक वनबाट खेतमा छिरेर क्षति पुर्‍याउन थालेपछि स्थानीयवासी हात्ती भगाउनकै लागि रातभर जाग्राम बस्दै आएका छन्। खेतमै आगो बालेर हात्ती भगाउनका तीन दिनदेखि खेतमै बस्दै आएको स्थानीयवासी बिन्ता जागरीले बताइन्।

वर्षातका बेला समेत यस क्षेत्रमा हात्तीको बथानले धान बालीमा व्यापक नोक्सानी गरेकाे छ।

हात्तीको बथानले शुक्लाफाँटा-७ को सिमलफाँटालगायतका किसानले लगाएको गहुँ बालीसमेतमा क्षति गरेको छ। हात्तीको बथानले प्रतिवर्ष नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ७, ८ र १२ का किसानले लगाएको धान, गहुँ, उखु र केरालगायतको बालीमा क्षति पुर्‍याउने गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्