‘ए’ डिभिजन लिगः छैटौं स्थानमा उक्लियाे संकटा
काठमाडौं। अजय मार्टिन्स कायोदेले पहिलो हाफमा गरेको गोलमा संकटा क्लबले आज हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हासिल गरेको संघर्षपूर्ण जितसँगै संकटा शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं स्थानमा उक्लिएको छ।

गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटाको जारी सिजन यो चौथो जित हो।

अफ्रिकी खेलाडी मार्टिन्सले २१औं मिनेटमा गरेको गोल संकटाको जितमा निर्णायक बन्यो। क्षितिजराजले बायाँ कर्नरबाट गरेको क्रसलाई ६ यार्ड बक्समा रहेका मार्टिन्सले हेडमार्फत् पोष्टको दिशा दिएका थिए।

हिमालयन शेर्पाले बल पोसेसन राम्रो राखे पनि गोलका अवसर सिर्जना गर्न सकेन।

यसपटक प्रशिक्षक परिवर्तन गरेको संकटाले तीन खेल बराबरी खेलेको थियो भने तीन खेल हारेको थियो। लिगमा तीन चरणका खेल मात्र बाँकी रहँदा संकटा यस सिजन लिग तालिकाको मध्य भागमा रहने लगभग पक्का छ।

हिमालयन शेर्पा भने रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको छ। १० चरणको खेल सकिँदा हिमालयन शेर्पाले एक मात्र जितेको छ।

चार खेल बराबरी खेलेको हिमालयन शेर्पाको सात अंक छ, जुन पुछारमा रहेको सरस्वती युथ क्लबभन्दा तीन अंकले माथि हो।

हिमालयन शेर्पा क्लबभन्दा तलको अर्को क्लब एपीएफ हो। एपीएफको पाँच अंक छ।

हिमालयन शेर्पा यसअघि पुछारको सरस्वती युथसँग ४–३ ले पराजित भएको थियो। एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले उक्त खेल स्वभाविक नभएको आरोप लगाएका छन्। तथापि अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस विषयमा अहिलेसम्म केही बोलेको छैन।

आजै दशरग रंगशालामा विभागीय टीम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्