रूडिगरले जोगाए चेल्सीलाई
काठमाडौं। एन्टोनियो रूडिगरको दुई गोलमा चेल्सीले आज इङ्लिस प्रिमियर लिगमा तेस्रो स्थानको लेस्टर सिटीसँग २–२ को बराबरी खेलेको छ।

किंग पावर रंगशालामा चारै गोल दोस्रो हाफमा सम्भव भएका थिए। दोस्रो हाफको दोस्रो मिनेटमै रूडिगरको गोलमा भ्रमणकारी चेल्सीले अग्रता लिएको थियो। उनले मासन माउन्टको कर्नरलाई हेडमार्फत् गोलमा परिणत गरेका थिए।

५४औं मिनेटमा घरेलु टोलीका हार्वे बार्नसले बराबरी गोल फर्काए। बार्नसले हानेको प्रहार चेल्सीका रक्षक रीस जेम्सको खुट्टामा लागेर गोल भएको थियो। युरी टेलमान्सको क्रसमा बेन चिलवा ६४औं मिनेटमा अर्को गोल थपेपछि ब्रेन्डन रोजर्सको टीम तीन अंक नजिक थियो।

तर, रुडिगरले ७१औं मिनेटमा माउन्टको पासमा अर्को गोल थपेपछि फ्रांक लामपार्डको टीमले एक अंक लिन सफल भयो।

बराबरीपछि लेस्टर ४९ अंकका साथ तस्रो स्थानमा यथावत् छ भने चेल्सी पनि ४१ अंकका साथ चौथो स्थानमा कायमै छ।

प्रतिक्रिया दिनुहोस्