संजोगको ह्याट्रिकमा थ्री स्टार ४-० ले विजयी

काठमाडौं। संजोग राईको ह्याट्रिकप्रेरित थ्री स्टार क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पुछारको क्लब सरस्वती युथलाई ४–० को नतिजामा पराजित गरेको छ।

थ्री स्टारको जितमा चारै गोल दोस्रो हाफमा भएका थिए। संजोगले तीन गाेल गरे भने अर्को गोल भारतीय खेलाडी लाल राममाभ्राले गरेका थिए।

यससँगै जारी लिगमा ह्याट्रिक गर्ने संजोग पहिलो खेलाडी बनेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका संजाेग लिगमा छैटौं चरणको खेल सकिएपछि मात्र थ्री स्टारसँग अनुबन्ध भएका थिए।

गत सिजन संजोगले च्यासल युथ क्लबबाट लिग खेलेका थिए। झापा–११ बाट मोफसलको प्रतियोगितामा खेलेपछि च्यासलले संजोग र निशान खड्कालाई कारबाहीको लागि निवेदन दिएको थियो। त्यहीअनुसार एन्फाले कारबाही गरेको थियो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले ४८औं मिनेटमा लाल राममाभ्राको गोलबाट अग्रता लिएको थियो। लालले सरस्वतीका रक्षक पूर्णबहादुर श्रेष्ठबाट बल खोस्दै पेनाल्टी क्षेत्रको दायाँ भागबाट पहिलो बार च्यापेर हानेको प्रहार गोल भएको थियो।

५७औं मिनेटमा संजोगले अर्को गोल थपे। उनले वैकल्पिक खेलाडी सुशन श्रेष्ठले हेडमार्फत् दिएको पासलाई पोष्टको दिशा दिएका हुन्। त्यसको तीन मिनेट नबित्दै संजोगले व्यक्तिगत दोस्रो गोल गरे। उनले सुशील राईको पासमा गोल गरेका हुन्। संजोगले ७१औं मिनेटमा ह्याट्रिक गरे। अशोक खवासले दिएको लामो पासमा संजोगले सरस्वतीका गोलकिपर प्रदीप भण्डारीलाई बिट गर्दै गोल गरेका हुन्।

यसँगै जारी लिगमा संजोगको चार गोल भएको छ। जुन धेरै गोल गर्ने च्यासल युथ क्लबका सन्तोष साहुखलको भन्दा दुई गोलले कम हो। सशस्त्र प्रहरी बल (एपीएफ)का आशिष लामाको पाँच गोल छ।

जितसँगै थ्री स्टार लिगको चौथो स्थानमा उक्लिएको छ। थ्री स्टारको १७ अंक छ, जुन शीर्ष क्लब त्रिभुवन आर्मीको भन्दा तीन अंकले कम हो। दोस्रो र तेस्रो स्थानमा रहेको मछिन्द्र र मनाङ मर्स्याङ्दी क्लबको समान १९ अंक छ। तथापि सबैले एक कम खेलेका छन्।

सरस्वती युथ भने चार अंकका साथ लिगको पुछारमा कायमै छ। सरस्वती युथले पछिल्लो खेलमा हिमालयन शेर्पा क्लबलाई ४–३ ले हराएको थियो।

आजै दशरथ रंगशालामा मछिन्द्र क्लबले एपीएफसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया दिनुहोस्