घुस लिएको आरोपमा विशेष अदालतमा अभियोग पत्र दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) का खरिदार नेत्रबहादुर चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मोही जग्गा बाँडफाँट गरिदिने प्रयोजनका लागि विभिन्न बहाना बनाई निजले सेवाग्राहीसँग ४० हजार रूपैयाँ घुस लिएको आयोगले आरोप लगाएको छ।

सेवाग्राहीसँग पटकपटक घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले निजलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

यस्तै आयोगले मोटरसाइकल चालकसँग दुई हजार घुस लिएको अवस्थामा पक्राउ परेका महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोगबहादुर खड्काविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

खड्काले ड्युटीमा खटिएका बेला ‘कुनै पनि गल्ती नगरेको अवस्थामा सेवाग्राहीसँग सवारी चालक अनुमतिपत्र मागी कुनै चिट नदिई मिलाउनुस्’ भनी घुस लिएको आयोगले आरोप लगाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्