सरकारी तथा शैक्षिक संस्थाको नक्कली छाप बनाउने दुई जना पक्राउ
काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न सरकारी तथा शैक्षिक संस्थाहरूको छाप बनाउने दुई जनालाई पक्राउ गरेको छ।

गैरकानूनी रूपले छाप बनाउने र कागजातसमेत बनाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले भक्तपुरको ठिमी बस्ने पारसमणी वली र काठमाडौंकै बागबजार बस्ने श्यामकुमार शाहलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले वली बस्ने स्थानमा खानतलासी गरेर सीमकार्ड, पासपोर्ट, स्मार्ट लाइसेन्स र सरकारी छापहरू बरामद गरेको छ। उनकै बयानका आधारमा प्रहरीले बागबजारबाट शाहलाई पनि पक्राउ गरेको हो।

वलीले शाहकै सम्पर्कमा पुगेर आफूले छाप बनाएको बताएका छन्। प्रहरीले उनीहरूको साथबाट रकुम चौरजहारी नगरपालिका, कन्ट्रोलर अफ ईक्जामिनेशन, रम्भादेवी टेक्निकल कलेज, टेकप्रसाद वली बोर्ड चियरम्यानको छाप, एशियन ईञ्जिनीयरिङ कलेज, विभिन्न क्याम्पस प्रमुखका छाप, प्रिन्टरमा प्रयोग गरिने विभिन्न रंगको मसी, सर्टिफिकेट तथा सवारी चालक अनुमति पत्र लगायत बरामद गरेको छ।

उनीहरूविरुद्ध लिखित सम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान गर्न महानगरीय प्रहरी वृत, ठिमी भक्तपुरको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्