गोली लागेर पनि प्रहरी जवान गंगाले चन्द समूहका दुईजना कार्यकर्ता पक्रिए

बर्दिया। बर्दियाको मधुवन नगरपालिका–४, मौवामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका कार्यकर्ता गोप्य छलफल गरिरहेका थिए।

एनसेल टावरमा विष्फोट र आगजनी गरेपछि प्रहरीले चन्द समूहका कार्यकर्ताको खोजी गरिरहेको थियो।

मौवामा पनि गोप्यरूपमा छलफल गरिरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय ढोढरीको प्रहरी टोली त्यहाँ पुग्यो।

चारजना कार्यकर्ताले छलफल गरिरहेका बेला प्रहरी टोलीले घर घेरा हाल्यो। त्यसक्रममा दुईजना भाग्न सफल भए।

तर, दुईजनालाई भने प्रहरीले समात्यो। त्यस क्रममा प्रहरी जवान गंगा चौधरी गोली लागेर घाइते भए।

एकजना व्यक्तिलाई समातिरहेकै समयमा अर्को हातमा उनले पेस्तोल समातेका थिए। दुईजनाबीच घम्साघम्सी भएपछि अचानक उनको पेस्तोल पड्कियो। र, आफ्नै तीघ्रामा गोली लाग्यो।

गोली लागे पनि उनले आफूले समातेका व्यक्ति छाडेनन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, एसपी राजेशनाथ बाँस्तोलाले चन्द समूहका कार्यकर्ता पक्राउ परेको अवस्थामा घम्साघम्सी हुँदा पेस्तोल पड्किएको बताए।

“गोली कतैबाट चलेको होइन। एक अर्कामा घम्साघम्सी हुने क्रममा पड्किन गयो”, उनले देखापढीसँग भने, “सोही क्रममा प्रहरी जवानको तीघ्रामा गोली लाग्यो।”

एसपी बाँस्तोलाले चारजनाको समूहमा रहेका मध्ये २ जनालाई पक्राउ गरिएको बताए। उनका अनुसार पक्राउ पर्नेमा चन्द समूहका रोहित सुनार र जयबहादुर ठाडामगर रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको छ।

घाइते भएका प्रहरी जवानलाई थप उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा भर्ना गरिएको छ। उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले चन्द समूहका कार्यकर्ताको साथबाट एकथान पेस्तोल, पार्टीका विभिन्न दस्ताबेज र आवश्यक कागजातसमेत बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्