जोकोभिच सेमिफाइनलमा फेडेररसँग भिड्ने

काठमाडौं। साविक विजेता नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलमा रोजर फेडेररसँगको भेट पक्का गरेका छन्।

दोस्रो वरीयताका जोकोभिचले क्यानडाका २१औं वरीयता प्राप्त मिलोस रोनिकलाई ३–० को सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन्।

अन्तिम सेटमा आँखामा समस्या भोगेका जोकोभिचले रोनिकलाई ६–४, ६–३, ७–६(७÷१) को सेटमा हराएका हुन्। तेस्रो सेटमा सात पटकको विजेता जोकोभिचको आँखामा समस्या देखिएको थियो।

जोकोभिचले आँखामा कन्ट्याक्ट लेन्स लगाउँछन्। तेस्रो सेट ४–४ को अवस्थामा जोकोभिचको कन्ट्याक्ट लेन्समा समस्या आएको हो, जसकारण केही समय खेल रोकिएको थियो।

“मिलोससँग म माफी चाहन्छु। मैले रणनीतिक वा नियतवश गरेको होइन”, जोकोभिचले भने, “मलाई हेर्न गाह्रो भएका कारण यस्तो गर्नु पर्‍यो।”

जोकोभिचले अब सेमिफाइनलमा स्विट्जरल्यान्डका फेडेररसँग प्रतिस्पर्धा गर्नेछन्। जोकोभिच र ३८ वर्षे फेडेरर अस्ट्रेलियन ओपनको आमनेसामने हुन लागेको सन् २०१६ पछि यो पहिलोपटक हो। त्यतिबेला सेमिफाइनलमा जोकोभिचले फेडेररलाई पराजित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्