ईपीएलमा अनिल महँगा खेलाडी

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा विराटनगर वारियर्सले आज युवा खेलाडी अनिल खरेललाई एक लाख २७ हजार रूपैयाँमा अनुबन्ध गरेको छ।

ईपीएलका टीमहरूले आज अनुबन्ध गरेका १३ खेलाडीमध्ये अनिल सबभन्दा महँगो खलाडी हुन्।

आज सम्पन्न पहिलो चरणको बोल बढाबढमा विराटनगरले अनिललाई अनुबन्ध गरेको हो। विराटनगरले आज अनिलबाहेक अन्य दुई खेलाडीलाई पनि अनुबन्ध गरेको छ।

विराटनगरले विक्रमकुमार भुषाललाई एक लाख १७ हजार र सौरभ खनाललाई एक लाख सात हजारमा अनुबन्ध गरेको हो। विराटनगरले पुष्प थापा, विनोद लामा र रोविन क्षेत्रीलाई छाडेका थियो।

सौरभले गत वर्ष पोखरा राइनोजबाट खेलेका थिए भने विक्रमकुमारले काठमाडौं किंग्स–११ बाट खेलेका थिए।

पोखरा राइनोजले चार खेलाडीलाई अनुबन्ध गरेको छ। रीत गौतमलाई एक लाख २० हजारमा अनुबन्ध गरेको पोखराले विवेककुमार यादवलाई ६० हजार र विपिन रावललाई ५० हजार रूपैयाँमा अनुबन्ध गरेको हो। पोखराले पृथु बास्कोटालाई ७५ हजार रूपैयाँमा अनुबन्ध गरेको छ।

पृथुले गत वर्ष चितवन टाइगर्सबाट खेलेका थिए। पृथुलाई छोडेको चितवनले खडक बोहरालाई ५० हजार रूपैयाँमा अनुबन्ध गरेको छ। चितवनले दोस्रो चरणको बोल बढाबढमा अनुबन्ध गरेको हो।

काठमाडौंले पनि तीन खेलाडी अनुबन्ध गरेको छ। काठमाडौंले सिद्धान्त लोहनी, विक्रमकुमार र पुरन विश्वकर्मालाई छोडेर शेर मल्ल, अमृत भट्टराई र दीपेन्द्र रावतलाई अनुबन्ध गरेको छ।

काठमाडौंले शेरलाई ८६ हजार तथा अमृत र दीपेन्द्रलाई समान ५१ हजारमा अनुबन्ध गरेको हो।

प्रकाश केसी र भूपेन्द्र थापा क्षेत्रीलाई छोडेको भैरहवाले हिमांशु दत्तलाई ५५ हजार तथा विकास आग्रीलाई ५० हजार रूपैयाँमा अनुबन्ध गरेको हो।

यसअघि चितवनले सोमपाल कामी तथा काठमाडौंले दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेलाई अनुबन्ध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्