काठमाडौं विश्वविद्यालयः सातवटा संकायका ताला खुले, अन्यमा तालाबन्दी यथावत्
काठमाडौं। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय(केयू)का विभिन्न सात संकायमा लगाइएको ताला २८ दिनपछि खुलाइएको छ।

१६ पुसदेखि केन्द्रीय हाताका उपकूलपति, रजिष्ट्रार, डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय टेक्निकल टे«निङ सेन्टर (टिटिसी) प्रशाशकीय भवनलगायत मुख्य प्रशासनिक भवन तथा विभिन्न संकायको कक्षमा तालाबन्दी भएको थियो।

विश्वविद्यालयमा सञ्चालित सातवटै संकायको कक्ष, परीक्षा नियन्त्रणको कार्यालय, टिटिसी प्रशासकीय भवनको ताला मात्रै खुलाइएको स्कुल अफ साइन्सका डीन प्रा.डा. कन्हैया झाले जानकारी दिए।

उनका अनुसार उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयको तालाबन्दी खुलाइएको छैन। केयू प्राध्यापक संघ र कर्मचारी संघले संयुक्तरूपमा विभिन्न माग राख्दै ताला लगाएको थियो।

“सोमबारको बालुवाटार भेलामा शिक्षामन्त्री ज्यूले तालाबन्दी खोल्नुस्, पठनपाठन रोक्नु भनेको अपराधजस्तै हो, केयूको समस्याबारे पछि छलफल गरौँला भनेपछि आन्दोलनरत पक्षले आज बिहान ९ बजे आंशिकरूपमा मात्रै तालाबन्दी खोल्नुभयो”, उनले भने।

१३ माघमा भएको विशेष छलफलमा केयू प्रशासनले प्राध्यापक र कर्मचारी संघका प्रतिनिधिलाई छलफलमा नराखेको र छलफलमा बसेका प्रतिनिधिलाई जबर्जस्त बाहिर पठाएको विरोधमा उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयको तालाबन्दीे नखुलाइएको प्रध्यापक संघका अध्यक्ष डा. वेदमणि दाहालले जानकारी दिए।

प्रध्यापक संघ र कर्मचारी संघले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनबाट भएको दुर्व्यवहारको भत्र्सनासमेत गरेका छन्। दाहालले भने, “हाम्रा कार्ययोजना सकारात्मक सम्बोधन नभएसम्म तीनवटा कार्यालयको तालाबन्दी खोल्दैनौँ।”

यसअघि केयू प्रशासनले आन्दोलनरत पक्षलाई ‘माग सम्बोधन गर्ने’ आश्वासन दिँदा २१ दिनपछि ताला खुलाइएको थियो। दुई संघ गत २३ साउनदेखि विभिन्न माग राख्दै पटक–पटक आन्दोलनमा छन्। विभिन्न वार्ता असफल भएपछि दुई संघले चरणबद्ध आन्दोलनको घोषणा गर्दै आएका छन्।

संघले काठमाडौं विश्वविद्यालय ऐन–२०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सहभागितामा संशोधन गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको आर्थिक तथा नीतिगत भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्ति विकासजस्ता माग राखेको छ। रासस

प्रतिक्रिया दिनुहोस्