११ दिनपछि भेटिए लाङटाङमा हराएका दुई विद्यार्थी

काठमाडौं। ३ माघदेखि लाङटाङ राष्ट्रिय निकुञ्जमा हराइरहेका दुई विद्यार्थीको शव भेटिएको छ।

सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय वाङगेल शेर्पा र काठमाडौं गोकर्णेश्वरका १९ वर्षीय जापान लामाको शव दुप्चेश्वर–१, फेदी नजिक आज दिउँसो फेला परेको नुवाकोट प्रहरीले जनाएको छ।

शव भेटिए पनि खराब मौसमका कारण निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी राजेश थापाले जानकारी दिए। “अब भोलि नै शव निकालिनेछ”, थापाले भने।

उनीहरूको खोजी कार्यका लागि उद्धारकर्ताहरू परिचालन गरिएको थियो। उद्धारकर्ताहरूले हिउँले पुरिएको अवस्थामा शव फेला पारेको नुवाकोट प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

दुवै विद्यार्थी काठमाडौंको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलमा अध्ययनरत थिए।

गोसाइँकुण्ड घुमेर उनीहरू हेलम्बु फर्कंदै गर्दा बेपत्ता भएका थिए। २९ पुसमा हेलम्बु पुगेका उनीहरू १ माघमा गोसाइँकुण्ड पुगेर घ्याङफेदीस्थित फेदी लजमा बास बसेका थिए।

३ माघमा बिहान ९ बजे उनीहरू घोप्टेफेदीबाट दक्षिणमा पर्ने तालु गाउँतिर हिँडेका थिए। प्रहरीका अनुसार त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए।

प्रतिक्रिया दिनुहोस्