सडकमा उत्रियो इरानी बिमान, सबै यात्रु सकुशल

काठमाडौं। इरानी यात्रुबाहक बिमान बान्दर–ए–मासार बिमानस्थलमा आज अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरुले बताएका छन् ।

राज्य सञ्चालित टेलिभिजनले स्थानीय अधिकारीहरुको भनाई उद्धृत गर्दै बिमानमा सवार यात्रुसमेत चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ।

खुजेस्तान प्रान्तका नागरिक उड्डयन सेवाका प्रमुख मोहमड्रेजा रेजाइयाले बिमानका पाइलटले विमानस्थलमा बिमान ढिला अवतरण गराएका कारण बिमान अनियन्त्रित भएको बताएका छन्।

इरानको क्यास्पियन एयरलाइन्सको स्वामित्वमा रहेको म्याकडोनल डग्लस बिमान राजधानी तेहरानको मेहराबाद बिमानस्थलबाट उडेको थियो। बिमानमा १३५ जना यात्रु र चालक दलका सदस्य थिए ।

टेलिभिजनले बिमानका सबै यात्रु सुरक्षित रहेको जनाएको छ। बिमानमै यात्रारत टेलिभिजनका पत्रकारले सडकमा बिमान अबतरण गर्नेक्रममा बिमानका पाङ्ग्राहरु फुटेको बताए।

इरानी नागरिक उड्डयन संस्थाले बिमान दुर्घटनाका बारेमा छानबिन शुरु गरिसकेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान बिरुद्ध आर्थिक नाकाबन्दी लगाएपछि विश्वका चर्चित बिमान कम्पनीहरु एयरबस र बोइङलाई आफ्ना जहाज इरानलाई बिक्री गर्न प्रतिबन्ध लागेको छ।

प्रतिबन्धहरुका कारण इरानी हवाई सेवा असुरक्षित रहेको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्