बैतडीमा छैन छाउगोठ, बार्ने चलन भने कायमै <p>बैतडी। जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा छाउगोठ नरहेको जनाएको छ। गृह मन्त्रालयले गत ८ पुसमा छाउगोठ भत्काउन निर्देशन दिएपश्चात प्रशासनले तयार पारेको रिपोर्टमा छाउगोठ नरहेको पाइएको हो।</p> <p>प्रशासन कार्यालयले प्रहरी युनिट, स्थानीय तह र सरोकारवालासँगको छलफलबाट छाउगोठ नरहेको पाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। निर्देनशनपश्चात छाउगोठ रहे/नरहेकाबारे तथ्याङ्क सङ्कलन गर्न सबै स्थानीय तह र सबै प्रहरी युनिटलाई पत्राचार गरिएको थियो।</p> <p>जिल्लामा छाउगोठ नरहेको भए पनि महिनावारी भएका बेला अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै छ। यसका साथै महिनावारीका बेला दूध दहीसमेत खान नहुने कुप्रथा छ।</p> <p>किशोरीले पनि महीनावारीका बेला विद्यालय नजाने र मन्दिर प्रवेशसमेत गर्न नहुने अन्धविश्वास रहेको छ।&nbsp; महिनावारी भएका बेला चार दिनसम्म कुनै व्यक्तिलाई छुन नहुने र दूध दही खान नदिने गरेको डिलाशैनीका अमिता बोहराको भनाइ छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्