प्रहरीमाथि अभद्र व्यवहारको आरोप लागेकी गायिका आस्था राउतद्वारा आत्मसमर्पण
काठमाडौं। महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीमा आफैं उपस्थित भएकी छन्।

आज बिहान ८ बजे गायिका राउत महानगरीय प्रहरी परिसरमा उपस्थित भएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले देखापढीलाई बताए।

"परिवारसँगकै समन्वयमा उनी प्रहरीमा आएकी हुन्। स्वास्थ्य परीक्षण गरेर आवश्यक कानूनी कारबाही थाल्ने छौं", बोगटीले भने।

अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर टेकुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो।

प्रशासनको अनुमतिपछि प्रहरीले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

१ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा राउतले प्रहरीमाथि ‘अभद्र’ व्यवहार गरेको प्रहरीको दाबी छ।

तर, उनले प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फेसबुक लाइभमार्फत् भिडिओ सन्देश जारी गरेकी थिइन्।

आस्थाको भिडिओ भाइरल भएपछि विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो।

जहाँ राउतले सुरक्षा जाँचका बेला कफीसहित पुगेको देखिन्छ। प्रहरी जवानले उनलाई कफी राख्न र ज्याकेट खोल्न लगाएकी छन्।

त्यसबाट रिसाएकी आस्थाले कफीको गिलास त्यहीँ छोडेर हिँडेको भिडिओमा देखिन्छ।

उक्त भिडिओ सार्वजनिक भएपछि आस्थाले फेसबुक लाइभमार्फत् माफी मागेकी थिइन्।

तर, सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आस्थाविरुद्ध विमानस्थल प्रहरीमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्