मालीमा भएकाे आक्रमणमा १५ सुरक्षाकर्मीको मृत्यु
माली (उत्तरपश्चिम अफ्रिका)। उत्तरपश्चिम अफ्रिकाको मालीमा आज अर्धसैनिक सुरक्षा बलको एक शिविरमा आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

“मालीको मध्य क्षेत्रमा रहेको सोकोलो सुरक्षा शिविरमा जिहादी विद्रोहीले गरेको आक्रमण कम्तीमा १५ अर्धसैनिकको मृत्यु भएको छ”, मालीको सैनिक स्रोतले बताएकाे एएफपीले जनाएकाे छ।

आक्रमणबाट मृत्यु हुनेमा अर्धसैनिक प्रहरी अधिकारी रहेकाे र शिविर बाहिर पनि दुईजनाको मृत शरीर देखेको एक स्थानीय सांसदले बताए।

“आक्रमणकारी जिहादी लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेका थिए”, सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारीले बताए।

उनले भने, “हतियारले सुसज्जित उनीहरू सोकोलो शिविरमा प्रवेश गरे। शिविरमा अन्धाधुन्ध गोली चलाएपछि केही सुरक्षाकर्मी भागेर आफ्नो सुरक्षा गरेका थिए। आक्रमणकारीले शिविरबाट हतियार लगायतका धेरै सामानहरू लगेका छन्।”

आक्रमणपछि शिविर पूर्णरूपमा भद्रगोल अवस्थामा रहेको एक मानवीय सहयोगका लागि कार्यरत संस्था सम्वद्ध स्रोतले बतायो। आक्रमणकारीले शिविरलाई तत्काल छोडेर भागेका थिए।

क्याम्पमा रहेका १५ सुरक्षाकर्मीको शवलाई हटाई अन्तिम परीक्षणका लागि अस्पताल पठाएकाे स्राेतले बताएकाे छ।

सोकोलो सेग्यो क्षेत्र अलकायदासँग सहकार्य गरेको मालीको जिहादी समूहको प्रभाव क्षेत्र हो।

सहेल क्षेत्रमा करीब चार हजार ५०० फ्रान्सेली सेना र मालीमा करीब १३ हजार संयुक्त राष्ट्रसंघको शान्ति सेना तैनाथ गरिएको छ। तर, जिहादीहरूले लुकीछिपी गर्ने आक्रमणबाट माली, बुर्किना फासो र नाइजरमा पटकपटक यस प्रकारका आक्रमणहरू हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्