रहिनन् कुसुन्डा भाषाकी जानकार ज्ञानीमैया

तुलसीपुर। कुसुन्डा भाषाकी एकमात्र जानकार ज्ञानीमैया कुसुन्डाले संसार छाडेकी छिन्।

लामो समयदेखि दमको रोगले ग्रसित कुसुन्डाको लमही नगरपालिका ६ कुलमोहर घरमा ८५ वर्षको उमेरमा निधन भएको हो।

कोहलपुर अस्पतालमा ४ दिन भर्ना गरेर उनलाई एक साता अघि परिवारका सदस्यले घर ल्याएका थिए। आर्थिक अभावका कारणले उपचार गर्न समस्या भएपछि भाषाविद् उदय आलेले उनलाई लमहीको फ्लोरेन्स अस्पतालमा उपचारका लागि पहल गरेका थिए।

अस्पतालले पनि उपचार हुन नसक्ने भन्दै उनलाई घर फिर्ता गरेको थियो। आज दिउँसो १२ वजे घरमै उनको निधन भएको बुहारी आशा पुनले बताइन्। कुसुन्डा नेपालको लोपोन्मुख जातिमा पर्दछ।

यो जातिका करीब तीन सय मानिस नेपालमा बसोबास गर्ने भए पनि कुसुन्डा भाषा जान्नेमा ज्ञानीमैया एक्ली थिइन्। उनी विभिन्न ठाउँ पुगेर कुसुन्डा भाषा प्रशिक्षण दिन्थिन्।

बुहारी र नातिनासँग कुलमोहर गाउँमा बस्दै आएकी उनलाई सरकारले घरसमेत बनाइदिएको थियो।

प्रतिक्रिया दिनुहोस्