पुछारको सरस्वतीविरुद्ध मनाङको संघर्षपूर्ण जित

काठमाडौं। विमला रानाको गोलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले आज पुछारको सरस्वती युथ क्लबलाई १–० ले हराएको छ।

रेलिगेशन क्षेत्रबाट माथि उक्लन संघर्ष गरिरहेको सरस्वती युथमाथि संघर्षपूर्ण नतिजा निकालेको मनाङले जितसँगै १६ अंक जोडेको छ। जुन शीर्ष स्थानको त्रिभुवन आर्मीसँग बराबरी हो।

तथापी गोलअन्तरको आधारमा मनाङ तेस्रो स्थानमा कायमै छ। त्रिभुवन आर्मी शीर्ष स्थानमा छ भने मछिन्द्र दोस्रो स्थानमा छ।

दोस्रो हाफको शरूमै विमलले गरेको गोल मनाङलाई तीन अंक दिलाउन पर्याप्त भयो। अञ्जन विष्टले हानेको गोल क्रसबार लागेर फर्किएको थियो। उक्त रिबाउन्ड बललाई विमलले कुनै गल्ति नगरी पोष्टको दिशा दिए।

लिगमा विमलको यो चौथो गोल हो। जुन लिगमा विमलभन्दा धेरै गोल गर्नेमा सशत्र प्रहरी बलको एपीएफ क्लबका आशिष लामा र च्यासल युथका सन्तोष साहुखल छन्। आशिष र सन्तोषले समान पाँच गोल गरेका छन्।

यो जितसँगै मनाङको अपराजित यात्रा कायमै छ। लिगमा अपराजित रहने मनाङ एक्लो टीम हो। सरस्वतीले भने अहिलेसम्म जित निकाल्न सकेको छैन। लिगको पुछारमा रहेको सरस्वतीको एक अंक मात्र छ।

प्रतिक्रिया दिनुहोस्