गोर्खाली सेनाले विदेशी सेनालाई हराएको दिनको सम्झनामा मकवानपुरगढीमा विजयोत्सव

मकवानपुर। गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरमा भव्यताका साथ आज विजयोत्सव मनाइँदैछ।

वीर गोर्खालीले मिरकासिमको सेनालाई पराजित मात्र गरेन् ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिन सफलता प्राप्त गरेको जनाइएको छ।

इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरेको थियो।

गोर्खाली सेनाले ऐतिहासिक विजय प्राप्त गरेको २५७ वर्ष पुगेको छ। गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रूपमा लिइन्छ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले विजयोत्सव कार्यक्रममा विविध गतिविधि गरिएको बताएका छन्।

पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयं गढीमा उपस्थित भएको बताइन्छ।

सोही समयदेखि विजयोत्सव मनाउन थालिएको भए पनि व्यवस्थित र भव्य कार्यक्रम गरेर मनाउन थालेको केही वर्ष मात्रै भएको गढी संरक्षण र व्यवस्थापनमा सक्रिय बद्री खतिवडाले जानकारी दिए।

गढी र तिनको ऐतिहासिकताको अध्ययन गरेका केदार न्यौपानेका अनुसार देशभरीका २०० गढीमध्ये मकवानपुर गढीको इतिहास महत्पूर्ण छ।

पाल्पाका राजा मणिमुकुन्द सेनले नै आफूलाई मकवानी राजाको सन्तान भएको दाबी गरेकाले मकवानपुर पुरानो राज्य भएको र पछि राजधानीलाई पाल्पामा सारेको हुनसक्ने उनले बताए।

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सेनवंशको चिनारी नामक पुस्तकमा पाल्पाका सेनहरु मकवानपुरकै भएको उल्लेख गरेका छन्।

मुकुन्द सेनले राज्य बाँडफाँड गर्दा मकवानपुर कान्छा छोरा लोहाङ सेनको भागमा पर्‍यो।

लोहाङले विसं १६१० पछि गढीको पुनर्निर्माण गरी मकवानपुर राज्यको विस्तार गरेका बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्