बालुवाटार जग्गा प्रकरण: मुद्दा चलाउनुअघि सरकारको संकेत पर्खिंदै अख्तियार
काठमाडौं। राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र प्रभावशाली व्यापारीसमेत मुछिएको बालुवाटारको १४१ रोपनी सरकारी जग्गा हिनामिनाको अनुसन्धान सकिए पनि मुद्दा दायरमा ढिलाइ भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महीनाअघि र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ११ दिनअघि नै अनुसन्धान सकेको छ।

तर, मुद्दा चलाउनेबारे निर्णय गर्न सकेका छैनन् ।

आजको नयाँ पत्रिकाका अनुसार कुन तहसम्मका व्यक्तिलाई मुद्दा चलाउने भन्नेमा अख्तियार र प्रहरी अलमलमा पर्दा अभियोजन लम्बिएको हो। दुवैले सरकारको संकेत कुरिरहेका छन्।

अख्तियारले दश महीनाअघि सहसचिवको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान गरेको थियो। टोलीले प्रतिवेदन प्रमुख आयुक्त नवीन घिमिरेलाई बुझाएको पनि एक महीना भइसक्यो । स्रोतका अनुसार मुद्दा दायर गर्दा सकेसम्म राजनीतिक नेतृत्वलाई नछुने अख्तियारको तयारी छ ।

"अनुसन्धानको सबै काम सकिएको छ, तर मुद्दा दायर गर्ने विषयमा किन निर्णय भएको छैन हामीलाई पनि थाहा छैन," अनुसन्धानमा संलग्न अख्तियारका एक कर्मचारीले भने।

कुनै पनि अनुसन्धानमा मुद्दा चलाउन अख्तियारको बैठकले निर्णय गर्नुपर्ने हुन्छ। मुद्दा प्रक्रियामा ढिलाइ हुँदा दोषीलाई उन्मुक्ति दिइने आशंका बढेको छ ।

सरकारले पनि जग्गा प्रकरणबारे थप अध्ययन र कारबाही गर्ने जिम्मेवारी सिआइबीलाई दिएको थियो। अनुसन्धान गर्न सिआइबीलाई दिइएको समय २८ पुसमा सकिएको छ।

"प्रतिवेदन तयार भइसकेको छ, मुद्दा दायर प्रक्रियामा छलफल हुन मात्रै बाँकी छ," सिआइबीका डिआइजी नीरज शाहीले भने।

१२ माघमा गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाउने सिआइबीको तयारी छ।

सरकारको निर्देशनपछि मात्रै अघि बढ्ने सिआइबीको योजना छ। "प्रतिवेदन बुझाएपछि गृहमन्त्रीज्यूको आदेश जे हुन्छ, त्यहीअनुसार हामी अघि बढ्छौँ," सिआइबीका एक अधिकारीले भने।

जग्गा प्रकरणमा मुछिएका केही उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसँग बयान लिए पनि सिआइबीले राजनीतिक नेतृत्वलाई भने अनुसन्धानको दायरामा ल्याएको छैन ।

बालुवाटार जग्गा प्रकरणमा मालपोत र नापी कार्यालयका मात्रै ३० कर्मचारी मुछिएका छन् । उनीहरू सबैमाथि अख्तियार र सिआइबीले मुद्दा दायर गर्ने तयारी गरेको छ।

त्यस्तै, गुठी संस्थान, टिकिन्छा गुठी, समरजंग कम्पनी, वडा कार्यालयका कर्मचारी, राणा परिवार, नक्कली मोही, जग्गाधनी, बिचौलिया र जग्गा बकस लिनेलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने दुवै निकायको प्रतिवेदनमा छ।

यसरी अभियुक्तको संख्या सयभन्दा धेरै हुने स्रोत बताउँछ। अख्तियार र प्रहरी दुवैले तत्कालीन सचिवहरू दीप बस्न्यात, छविराज पन्तसहित सबैसँग बयान लिइसकेको छ।

स्रोतका अनुसार सिआइबीको अनुसन्धान प्रतिवेदनमा अदालतका कागजसमेत नक्कली बनाएर मन्त्रिपरिषद्मा पेस गरी नीतिगत निर्णय गराएर बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार भएको औँल्याइएको छ ।

राणा परिवारले करीब २२ रोपनी जग्गा त बकसबापत कर्मचारीलाई घुस नै दिएका थिए।

त्यसरी बकस लिने र दिनेबीच चिनजान नै नहुनुले त्यो घुस नै भएको निष्कर्ष अख्तियार र प्रहरीले निकालेका छन्।

जसमा पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसमेत संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।

चारपटक गरेर ललितानिवासमा पर्ने बालुवाटारको १४१ रोपनी चार आना जग्गा हिनामिना भएको निष्कर्ष अख्तियारको छ ।

प्रतिक्रिया दिनुहोस्