म्यूजिक नेपालको दाबी– ‘सम्झौताबिना कुनै सामग्री अपलोड गरिएको छैन’

काठमाडौं। म्यूजिक नेपालले युट्युबमा अपलोड गरिएका सामग्रीहरू सम्बन्धित स्रष्टाको अनुमति र उनीहरूसँगको सम्झौताबमोजिम नै भएको दाबी गरेको छ।

अनाधिकृतरूपमा युट्युबमा आफ्नो सामग्री अपलोड गरिएको भन्दै आएका स्रष्टालाई दुष्प्रचार नगर्न म्यूजिक नेपालले भनेको छ।

आफूसँग कुनै सहमति तथा सम्झौता नगरी म्यूजिक नेपालले युट्युबमा भिडिओ अपलोड गर्दै आएको भन्दै केही स्रष्टाहरूले कानूनी लडाइँ लड्ने चेतावनी दिएपछि म्यूजिक नेपाले आफ्नो धारणा सार्वजनिक गरेको हो।

म्यूजिक नेपालले विज्ञप्ति जारी गर्दै प्रतिष्ठामा आँच आउने गरी एकतर्फीरूपमा कुनै किसिमको दुष्प्रचार नगर्न सचेत गराएको छ।

म्यूजिक नेपालले प्राप्त गर्ने आम्दानीबाट सम्बन्धित सम्झौताका पक्ष स्रष्टा–कलाकारलाई उपलब्ध गराउने रोयल्टी वा हिस्सा रकम सम्झौता बमोजिम भुक्तानी गराउँदै आएको दाबीसमेत गरेको छ।

कहाँ भेटिएला, नुमाफुङ, बलिदान, मेघा लगायतका चलचित्रलाई म्यूजिक नेपालले आफूहरूको अनुमतिबिना यूट्यूबमा अपलोड गरिएको चलचित्रकर्मीहरूको आरोप छ।

नुमाफुङ चलचित्रका निर्देशक नवीन सुब्बा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठको कहाँ भेटिएलाका लागि स्वेता खड्का, बलिदान चलचित्रका निर्माता श्यामकुमार सापकोटा, मेघा चलचित्रका निर्देशक सम्झना उप्रेती रौनियारले आफूहरू म्यूजिक नेपालबाट ठगिएको आरोप लगाउँदै आएका छन्। उनीहरूले म्यूजिक नेपालविरुद्ध कानूनी लडाइँ लड्ने प्रक्रियाको थालनी गरेको समेत बताएका छन्।

उक्त आरोपको खण्डन गर्दै म्यूजिक नेपालले अहिलेसम्म कुनै पनि सामग्री सम्बन्धित स्रष्टाको अनुमति तथा सम्झौताबिना अपलोड नगरिएको जनाएको छ।

साथै म्यूजिक नेपालले केही सञ्चारमाध्यममा म्यूजिक नेपालबारे भ्रमपूर्ण समाचार प्रकाशन भएको र सोही समाचारलाई फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् नियोजितरूपमा गरिएको नकारात्मक टिप्पणीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्