‘सिद्धबाबा’ मुद्दामा अदालतले भन्याे- 'तीन दिन बढी अस्पताल राख्न तीन चिकित्सककाे सिफारिस लिनू'

काठमाडौं। विराटनगर उच्च अदालतले बलात्कारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई तीन लाख रूपैयाँ धरौटीमा छाड्ने सुनसरी जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमबहादुर कार्कीको इजलासले 'तत्काल प्राप्त प्रमाण र घटना हुँदाकाे परिस्थिति विचार गर्दा गिरी कसूरदार होइनन् भनेर अहिले नै भन्न नसकिने भएकाले पछि ठहरे बमोजिम हुने गरी हाललाई हिरासतमा राख्नू' भन्ने आदेश दिएको हो।

सुनसरी जिल्ला अदालतले १४ पुसमा तीन लाख धराैटी लिएर तारेखमा छाड्न दिएको आदेश बदर गर्दै गिरीलाई उच्च अदालतले थुनामा पठाउने आदेश दिएको हो। गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश नमिलेको भन्दै सरकारी वकीलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

त्यस्तै आफूलाई तीन लाख धरौटी माग्ने जिल्ला अदालतको थुनछेक आदेशलाई पनि गिरीले चुनौति दिँदै साधारण तारेख माग गरेर उच्च अदालतमा निवेदन दिएका थिए। दुवै निवेदनमा एकसाथ सुनुवाई गर्दै उच्च अदालतले आज गिरीलाई थुनामै राख्नुपर्ने आदेश दिएको रजिष्टार जितेन्द्रबाबु थपलियाले बताए।

गिरीलाई थुनामा पठाउने उच्च अदालतको आजको आदेशको महत्व अर्को पनि छ। गिरीविरुद्ध उनकै एकजना अनुयायीले बलात्कृत भएको उजुरी दिएलगत्तै उनी बिरामी परेकाे भन्दै विराटनगरकाे एक अस्पताल भर्ना भएका थिए।

बिरामी परेको बहानामा अस्पताल भर्ना भएका गिरीले प्रहरीले अनुसन्धान टुंग्याएर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गर्दासम्म पनि अस्पताल नै बसिरहे। मुटुको रोग लागेको बहाना पारेका उनले अस्पताल बस्दा भने छालाको एलर्जीसम्बन्धी सामान्य औषधी मात्र सेवन गरेको पाइएको थियो।

यसरी गिरीले अस्पतालमै बसेर बलात्कार जस्ताे गम्भीर फौजदारी मुद्दाको प्रतिरक्षा गर्ने मौका पाएका थिए। उच्च अदालत विराटनगरमा आज सरकारी वकील र पीडितका तर्फबाट बहष गरेका वकीलहरूले हिरासतको बसाइँ छल्न गिरी अस्पताल बसेको जिकिर गरेका थिए ।

इजलासले गिरीको त्यस्तो कार्यविरुद्ध आफ्नो ध्यानाकर्षण भएको आदेशमा लेखेको छ– ‘हिरासतको बसाइँ छल्न अस्पतालमा बसेको भनी बहसमा उठेको जिकिरतर्फ यो इजलासको ध्यानाकर्षण भएको छ।’

साथै अदालतले कोही पनि प्रतिवादी आफ्नो स्वास्थ्य उपचारको अधिकारबाट वञ्चित हुन नपरोस् र थुनामा बस्नुपर्ने अवस्थालाई छल्नका लागि अस्पतालमा बस्ने स्थिति पनि नबनोस् भनेको छ।

त्यसका लागि इजलासले आकस्मिक उपचारका लागि बढीमा ७२ घण्टासम्म अस्पतालमा बस्नु परेको अवस्थालाई सामान्य मान्दै त्यस्तो अवस्थाबाहेकमा सरकारी अस्पतालका कम्तीमा तीनजना चिकित्सकहरूको समितिबाबट सिफारिस लिएर मात्र उपचारार्थ अस्पतालमा रहने सुविधा प्रदान गर्न सम्बन्धित कारागार कार्यालयलाई निर्देशन दिएको छ।

कुनै पनि अपराधको अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिँदा वा पुर्पक्षका लागि अदालतले थुनामा पठाउँदा बिरामी परेको बहानामा थुना वा हिरासत छल्न अस्पताल बस्ने प्रवृत्ति बढ्दै गएको छ। देशका अन्य भागमा अन्य अपराधको अनुसन्धानका लागि पक्राउ पर्नुपर्ने व्यक्तिहरू पनि अस्पताल बसेर हिरासत छलेका थुप्रै घटना छन्।

विराटनगर उच्च अदालतले आज दिएको जस्तो आदेशले यस्तो प्रवृत्ति रोक्न सहयोग पुग्न सक्छ। तर, विराटनगर उच्च अदालतको आजको आदेश कृष्ण गिरीका हकमा मात्र लागू हुन्छ। अरु कुनै मुद्दाको अन्तिम आदेश वा फैसला गर्दा सर्वोच्च अदालतले नै यस्तो आदेश दियो भने त्यो अन्य घटनामा पनि कानून सरह लागू हुनसक्छ ।

उच्च अदालत विराटनगरको आजको आदेश केलाउँदा सुनसरी जिल्ला अदालतले नजरअन्दाज गरेका थुप्रै प्रमाणलाई उच्च अदालतले गिरीविरुद्ध प्रमाणको रूपमा लिएको देखिन्छ। आदेशमा ‘एउटा धर्मगुरु र निजको अनुयायीबीचको सम्बन्धमा धर्मगुरुबाट पर्न सक्ने अनुचित प्रभाव तथा डर त्रासको अवस्था समेतलाई विचार गर्नुपर्ने' उल्लेख छ।

पीडितले दिएको जाहेरी, उनले कागज गर्दा कृष्ण गिरीको खुट्टाको घुँडामा दाग थियो भनि लेखाएको र गिरीको शरीर परीक्षण गर्दा त्यस्तै देखिएको, पीडितका पतिले गरेको कागज, गिरीले पीडितलाई मोबाइलमार्फत् पठाएका सन्देश, त्यसपछिको कुराकानीमा गिरीले मागेको माफी जस्ता प्रमाणलाई अदालतले गिरीविरुद्धका प्रमाणको रूपमा व्याख्या गरेको छ।

जबकी जिल्ला अदालतले यी सबै प्रमाणलाई आफ्नो आदेशमा उल्लेख गरे पनि तीन लाख धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको थियो।

पढ्नुहाेस्

‘सिद्धबाबा’लाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरको आदेश

‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’

प्रतिक्रिया दिनुहोस्