हिमालयन शेर्पाका प्रशिक्षक बुढाथाेकी भन्छन्- 'खेलाडी प्रशिक्षकभन्दा जान्ने भएकाले हारियाे'
काठमाडाैं। हिमालयन शेर्पाका प्रशिक्षक संजीव बुढाथाेकीले खेलाडीहरूले भनेकाे नमान्दा पराजित हुनु परेकाे बताएका छन्।

“आज हाम्रो खेल अनुशासित भएन। रक्षापंक्तिले सोचेको जस्तो खेल्न सकेन”, बुढाथाेकी भन्छन्, “पहिलो हाफ हामीले ठिकै खेल्यौं। तर, दोस्रो हाफ खत्तम खेल्यौं। आज रक्षात्मक खेलेर गोल निकाल्ने योजना थियो।”

तर, खेलाडीहरूले भनेकाे नमान्दा खेल हार्नुपरेकाे उनकाे भनाइ छ। भन्छन्, “खेलाडीहरू आज प्रशिक्षकभन्दा जान्ने भए। अरू बेला त प्रशिक्षकले भनेको मान्थे। तर आज के भयो खै ?”

त्रिदेव गुरुङ घाइते भएका कारण पनि समस्या भएकाे बुढाथाेकी बताउँछन्। “थ्री स्टार धेरै राम्रो टीम भएकाले उनीहरूलाई स्पेस दिन हुँदैन्थ्याे, तर, पछिल्लो नतिजाबाट हाम्रा खेलाडी धेरै उत्साहित भएजस्तो देखियो।”

यस्तै थ्री स्टारका प्रशिक्षक मेघराज केसी हिमालय शेर्पासँगकाे खेल राेचक नभएकाे बताउँछन्। “थ्री स्टार र हिमालयन शेर्पाको जस्तो खेल हुनुपर्ने हो, त्यस्तो भएन”, उनले भने, “आजको जितले हामीलाई पुनः उपाधि होडमा ल्याएको छ। हामी उपाधि होडबाट बाहिर छैनौं।”

नतिजा राम्रो आए पनि आजकाे प्रदर्शन मध्यमस्तरकाे भएकाे उनकाे भनाइ छ। “नेपालकाे परिवेशमा विपक्षी जस्तो हो त्यहीअनुसारको खेल हुन्छ। हाम्रो पूरै टीमले एकरूपको प्रदर्शन गर्न सकेको छैन”, उनले भने, “तीन नयाँ खेलाडी (संजोग राई, लाल राम माभ्रा र निशान खड्का) ल्याएपछि हाम्रो खेलमा केही सुधार भएको छ। अझै सुधार गर्नु आवश्यक छ।”

प्रतिक्रिया दिनुहोस्