मापसे गर्ने चालकलाई अब हिरासतमा राखेर मुद्दा

धादिङ। मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ।

७ माघमा ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको मृत्यु र ३२ जनाभन्दा बढी घाइते भएका थिए।

सो दुर्घटनामा ट्रक चालकले मादक पदार्थ सेवन गरेको खुलेको थियो।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाजसहितको ८ माघको सर्वपक्षीय बैठकमा सवारी दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई हिरासतमा राखेर मुद्दा चलाउने सहमति गरेको छ।

सहमति पालन गराउन प्रभावकारी अनुगमन पनि गरिनेछ।

सिटभन्दा बढी यात्रु चढाउने तथा मालबाहक सवारीले यात्रु चढाउने गरेमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कारबाही गर्ने सहमति बैठकमा भएको छ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, “सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा अबदेखि जरिवाना होइन, हिरासतमा राखेर कारबाही गर्नेछौं।”

बीमा नभएका सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने, बिलबुकमा प्रयोजन भनिएको अनुसार सवारी सञ्चालन गर्ने, प्रदूषण पास नभएका सवारी सञ्चालनमा रोक लगाउने, सामान ढुवानी गर्दा सवारी साधनको बाहिर निस्कने गरी सामग्री राख्न नपाइने लगायतमा पनि कडा गरिनेछ।

ट्राफिक प्रहरीले सवारी चालक र यात्रुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टाइमकार्ड व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातिको समयमा विशेष सांकेतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रु सङ्ख्याभन्दा बढी यात्रु राखेमा कारबाही गर्ने सर्वपक्षीय बैठकको निर्णय छ। रासस

प्रतिक्रिया दिनुहोस्