एन्फा र इंग्ल्याण्ड फुटबल एशोसिएसनबीच सम्झौता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्याण्ड फुटबल एशोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ।

नेपाल र बेलायतको दौत्य सम्बन्ध २०४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने र आयोजना गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलका लोरेन जोन्सले हस्ताक्षर गरेका छन्।

एन्फा अध्यक्ष शेर्पाले नेपाल र बेलायतको सम्बन्ध २०४ वर्ष पुगेको अवसरमा पहिलो मैत्रीपूर्ण खेल बेलायत र दोस्रो मैत्रीपूर्ण खेल नेपालमा आयोजना हुने बताए।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले मैत्रीपूर्ण खेलहरू आगामी मे महीनामा हुने बताए। सन् २०२१ मा पनि मैत्रीपूर्ण खेलले निरन्तरता पाउने उनले बताए।

वार्षिक रूपमा मैत्रीपूर्ण खेलको निरन्तरता दिने प्रयास अन्फाबाट हुने र सोही अनुसार काम अगाडी बढाउने उनले बताए।

२५ मे मा हुने पहिलो मैत्रीपूर्ण खेल सात हजार दर्शक क्षमता रहेको अल्डरसट एफसीको मैदानमा हुनेछ।

यस्तै सन् २०२१ को मे मा इंग्ल्यान्डको टीम नेपाल आउने छन्। नेपालमा हुने खेलको मिति भने तय भएको छैन।

प्रतिक्रिया दिनुहोस्