पासपोर्ट फालेर नेपालमा बस्दै आएका अमेरिकी पक्राउ

काठमाडौं। नेपालीहरू अवैध माध्यमबाट अमेरिका प्रवेशपछि पासपोर्ट फालेर शरणार्थीका रूपमा बस्न खोज्ने प्रवृत्ति नयाँ होइन।

मेक्सिकोको सीमाबाट त्यसरी अवैध रूपमा छिरेर अमेरिका गएर लुक्ने नेपालीको संख्या ठूलो छ।

नेपाली अमेरिका गएर लुक्ने मात्र होइन, कतिपय अमेरिकीसमेत लुकिछिपी नेपालमा बस्ने गरेको पाइएको छ ।

पासपोर्ट फालेर यसरी नेपालमा बस्दै आएका एक अमेरिकी नागरिक ६ माघमा काठमाडौंमा पक्राउ परेका छन्।

गाँजा खाएर होहल्ला गरेको अवस्थामा अमेरिकी नागरिक हेनी योङलाई पर्यटक प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको छ।

उनी अवैध रूपमा नेपालमा बस्दै आएको र पासपोर्टसमेत नभेटिएको अध्यागमन विभागका अधिकृत वैकुण्ठ रेग्मीले बताए।

यसरी नेपालमा अवैध रूपमा लामो समय बस्ने उनी एक्ला अमेरिकी होइनन्।

सन् २०१९ मा नेपालमा भिसाको अवधि सकिएर अवैध रूपमा बस्दै आएका २३ जना अमेरिकी नागरिकलाई सरकारले निष्कासन गरेको छ।

एक वर्षमा नेपालमा पर्यटकहरूले १५० दिन बस्न पाउँछन् । अमेरिकासँग भिसा पारस्पारिकताका आधारमा १८० दिनसम्म बस्न पाउँछन् ।

त्योभन्दा लामो अवधि बसेकालाई मात्र अध्यागमन विभागले जरिवाना गरेर निष्कासन गर्छ।

"अमेरिकीहरू प्रायः लागुऔषध, बाल यौन दुराचार मुद्दामा नेपालमा पक्राउ पर्छन्,"अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, "कतिपय अपराध गरेर लुक्न आएकालाई पनि हामीले पक्राउ गरेर फिर्ता गरेका छौँ।"

अमेरिकामा बाल यौन दुराचार गरेर लुक्न नेपाल आएका एक अमेरिकीलाई लैजान अमेरिकी सरकारले प्लेन नै चार्टर्डसमेत गरेको थियो ।

सन् २०१९ मा नेपालबाट निष्कासित हुने विदेशीमा तेस्रो स्थानमा अमेरिकी रहेको आजको नयाँ पत्रिकामा समाचार छ।

पहिलो स्थानमा चिनियाँ र दोस्रो स्थानमा इरानी भएको अध्यागमन विभागले जनाएको छ।

नेपालमा बसेर कानुन मिच्ने विदेशी नागरिकमाथि कारबाही बढाइएको विभागका महानिर्देशक पौडेलले बताए।

"विकसित देशका नागरिकसमेत नेपालमा वर्षौँदेखि अवैध रूपमा बस्दै आएको पाइयो," उनी भन्छन्, "त्यस्ता विदेशीमाथि हामीले निगरानी बढाएका छौँ ।"

प्रतिक्रिया दिनुहोस्