जबर्जस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा चलाइयो
नवलपुर। ४० वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा बुलिङटार गाउँपालिका–४, अर्खला स्वास्थ्यचौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ।

प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाएको हो। अहेव सुस्लिङ फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

“माघ २ गते साँझ सुस्लिङले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेपछि मुद्दा चलाइएको हो”, नवलपुरका प्रहरी उपरीक्षक मोहन पोखरेलले भने, “जाहेरी दर्ता भएपछि अहेव सुस्लिङलाई पक्राउ गर्न प्रहरी खटिएको छ।” घटना थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल पठाइएको बताउँदै उनले भने, “पीडित महिलाको स्वास्थ्य जाँचसमेत गरिएको छ।”

घटना प्रहरी कहाँ पुगेको तीन दिनसम्म पनि आरोपित पक्राउ परेका छैनन्। फरार आरोपीलाई प्रहरीले खोजतलास गर्न ढिला गर्न नहुने महिला अगुवा लीला भण्डारीले बताइन्।

“पीडकलाई गाउँमै माफी मगाउने र पीडितलाई २० हजार रूपैयाँ दिएर मिलापत्र गर्ने धम्की दिएपछि प्रहरीको शरणमा आएका हौं”, पीडित महिलाका श्रीमानले  भने, “अहिले पनि तँसँग मुद्दा लड्ने पैसा छैन, मुद्दा फिर्ता लिनू भन्दै पीडकका आफन्तहरूले  दबाब दिएका छन्।”

प्रतिक्रिया दिनुहोस्