तीन वर्षअघि चन्दननाथबाट चोरिएको मूर्ति खेतको आलीमा भेटियो <p>जुम्ला। प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति तीन वर्षपछि फेला परेको छ। मन्दिरबाट चोरिएको करीब १८ किलो चाँदीको दत्तात्रयको मुख्य मूर्ति खेतको आलीमा फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। विसं २०७३ मंसीर ११ गते राति मन्दिरबाट मूख्य मूर्तिसहित दर्जनौं बहुमूल्य मूर्ति चोरिएका थिए।&nbsp;</p> <p>आज बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा दत्तात्रयको मुख्य मूर्ति फेला परेको हो। स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिर र प्रहरीलाई खबर गरेका थिए।&nbsp;</p> <p>भेटिएको मूर्ति मन्दिरमा पुनःस्थापनाका लागि तयारी गरिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिए। मूर्ति चोरी हुँदा त्यसबेला जुम्लामा आन्दोलन चर्किएको थियो। अनुसन्धानका लागि केन्द्रीय प्रहरी जाँच ब्यूरो (सिआइबी) को छानबिन टोली गठन भए पनि मूर्ति कसले चोरेको हो भन्ने पत्ता लाग्न सकेको छैन।&nbsp;</p> <p>मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए। मुख्य मूर्ति भने भेटिएको थिएन। भेटिएको मूर्ति स्थानीयवासीले आजै बाजागाजासहित मन्दिरमा ल्याउने तयारी गरेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्