अनधिकृत रूपमा युट्युबमा चलचित्र अपलोड गर्दै म्युजिक नेपाल
काठमाडौं। म्युजिक नेपालले संगीतकर्मीलाई मात्रै होइन, चलचित्रकर्मी निर्माताहरूको पनि चरम शोषण गरेको पाइएको छ।

निर्माताहरूसँग गीत/फिल्म लिने, तर त्यसको रोयल्टी नदिई उसले ठगी गर्दै आएको हो। उसको ठगीमा पर्नेमा पुरानादेखि नयाँ निर्मातासम्म छन्। म्युजिक नेपालले क्यासेट र डिभिडी निकाल्ने भन्दै निर्माताहरूसँग सम्झौता गर्ने, तर ती गीत युट्युबमा राख्दा कपिराइट दाबी गर्दै आर्थिक शोषण गर्ने गरेको छ।

उसले विनास्वीकृति चलचित्रका हजारौँ गीतमा कपिराइट दाबी गरेर कमाइ गर्दै आएको छ। संगीतकर्मी र चलचित्रकर्मीलाई शोषण गर्दै आएको म्युजिक नेपालको मासिक कमाइ एक करोड रुपैयाँभन्दा बढी रहेको एक निर्माताले बताए ।

निर्माता संघका पूर्वअध्यक्ष युवराज लामाले म्युजिक नेपालको चरम शोषणमा आफू पनि परेको बताए।

"पहिला म्युुजिक नेपाललगायतका संस्थालाई क्यासेट, सिडी बिक्री गर्न भनेर दिने गरिन्थ्यो । अहिले सिडीको ठाउँमा आगामी पचास, सय वर्षसम्म आउने प्रविधिमाथि उहाँहरूले सोध्दै नसोधी व्यवसाय गरिरहनुभएको छ। मनग्य कमाइरहनुभएको छ । क्यासेट र सिडीबाहेक पेनड्राइभमा बजाउने अधिकार पनि उहाँहरूलाई छैन । इन्टरनेट त परै जाओस्," उनले भने ।

म्युजिक नेपालले चलचित्रका गीतका क्यासेट र सिडी निकाल्न भनी अधिकार लिने, तर पछि ती चलचित्रका गीतलाई युट्युबमा राखेर कपिराइट क्लेम गर्दै आएको छ। यस्तै मारमा निर्मात्री तथा नायिका श्वेता खड्का पनि परेकी छिन्।

श्वेताले अभिनय गरेको पहिलो चलचित्र ‘कहाँ भेटिएला’ फिल्मको गीतको म्युजिक नेपालले क्यासेट र सिडी निकाल्न अधिकार लिए पनि पछि युट्युबमा राखेर कमाइ गर्दै आएको छ ।

‘कहाँ भेटिएला’ मेरो पहिलो डेब्यु फिल्म हो। सन् २०१४ मा म्युजिक नेपालले युट्युबमा अपलोड गरेको रहेछ । युट्युब च्यानलमा ‘प्रोभाइडेड बाई ओएसआर डिजिटल प्रालि’ भन्ने छ । तर, सबै कपिराइट म्युजिक नेपालको छ ।

"यसरी सबै कपिराइट कसरी म्युजिक नेपालको भयो ? थाहा छैन," श्वेताले भनिन्, "उहाँ (श्रीकृष्ण श्रेष्ठ) हुँदै दिनुभएजस्तो लाग्छ । त्यसवेला युट्युबकै लागि भनेर थियो दिइएको जस्तो लाग्दैन।"

‘नुमाफुङ’ चलचित्रका निर्देशक नवीन सुब्बाले म्युजिक नेपालसँग कानुनी लडाइँ लड्ने तयारीमा रहेको जानकारी दिए । आफूहरूसँग कुनै सम्झौता नै नगरी ‘नुमाफुङ’ चलचित्र म्युजिक नेपालले युट्युबमा राखेको उनको भनाइ छ।

"म्युजिक नेपालले ‘नुमाफुङ’ युट्युबमा अपलोड गरेको छ, तर हामीसँग सम्झौता नै गरेको छैन। त्यत्तिकै युट्युबमा हालिदिएको छ । अब सम्झौता नै नगरेपछि रोयल्टी पाउने कुरै हुन्न । हामी कानूनी लडाइँ लड्ने तयारीमा छौँ," उनले भने। यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।

प्रतिक्रिया दिनुहोस्