महीनावारी हुँदा घरको बाटो हिँडेको भन्दै कुटिए दुई महिला

कंचनपुर। सरकारले महिला हिंसा र कुसंस्कार अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ-गाउँमा छाउगोठ भत्काउँदै हिँडेको छ।

तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महीनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै एक पुरुषले दुई महिलालाई निर्घात कुटेका छन्।

बेलडाँडी गाउँपालिका–१ टाइगर बस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खड्कामाथि हातपात गरेका हुन्। महीनावारीका वेला घरको बाटो हिँड्दा 'आँखा लागेर भैँसीले दूध नदिएको' आरोप लगाउँदै शाहले कुटेको पीडितहरूले बताएका छन्। गीता र ईश्वरी देउरानी–जेठानी हुन्।

"मिन्स भएको वेला मेरो घरको बाटो किन हिँडेको भन्दै देउरानीलाई दलबहादुरले गाली गर्‍यो," धनगढीको नोभा अस्पतालमा उपचाररत ईश्वरीले भनिन्, "मैले तथानाम नबोल्नुस् भनेपछि हामी दिदी–बहिनीलाई नै कुटपिट गर्‍यो।"

गीताको पनि नोभा अस्पतालमै उपचार भइरहेको छ। खड्का परिवार आरक्षपीडित भएकाले शाह परिवारकै जमिनमा बस्दै आएको छ। दुवै परिवारको सधैँ हिँड्ने बाटो नै एउटै छ।

तर, त्यही बाटो प्रयोग गर्दा आफ्नो घरको बाटो हिँडेको आरोप लगाएर दलबहादुरले कुटपिट गरेका हुन्।

दलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ।

छिमेकी, स्थानीय र महिला अधिकारकर्मीले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको आजको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ।

‘सरकारले छाउपडी उन्मूलनका लागि देशव्यापी अभियान चलाएको छ, तर बेलडाँडीको घटनाले त्यो अभियानमाथि नै प्रहार गरेको छ,’ अधिकारकर्मी माया नेगीले भनिन्।

दोषीलाई उन्मुक्ति दिन चलखेल गरे आन्दोलन गर्ने महिला अधिकारकर्मीले चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्