काठमाडौं जिल्ला बक्सिङ संघको निर्वाचन अवैधानिकः श्रेष्ठ
काठमाडौं। काठमाडौं जिल्ला बक्सिङ संघ अध्यक्ष तथा निर्वाचन समिति संयोजक दिनकलाल श्रेष्ठले ३ माघमा केन्द्रले एकलौटी ढंगमा गरेको जिल्ला संघको निर्वाचन आधिकारिक नहुने बताएका छन्।

नेपाल बक्सिङ संघ केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल जेठमा सकिँदैछ। आगामी जेठमा केन्द्रीय संघको निर्वाचन हुने भएकाले अहिले जिल्ला संघहरूको निर्वाचन भइरहेका छन्।

यसै क्रममा काठमाडौं जिल्ला बक्सिङ संघको विशेष साधारणसभाले नवीन तण्डुकारको अध्यक्षतामा पाँच सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।

तर, काठमाडौंका अध्यक्ष श्रेष्ठले केन्द्रको हस्तक्षेप र व्यक्तिवादी प्रवृत्तिका कारण ललितपुर र भक्तपुरलगायतका अन्य जिल्लाका निर्वाचन विवादित बनेकाे बताए। उनले केन्द्रले हस्तक्षेप गरेका कारण काठमाडौं जिल्लाको निर्वाचनले पनि आधिकारिकता नपाउने बताए।

उनका अनुसार शुरूमा काठमाडौं जिल्लाको अधिवेशन २५ साउन २०७६ का लागि तय गरिएको थियो। केन्द्रले उक्त मितिमा निर्वाचन नगर्न भनेपछि स्थगित भएको थियो। त्यसपछि केन्द्रको निर्देशनअनुसार एक साताभित्र केन्द्रीय पदाधिकारीको रोहवरमा आफूलाई चुनाव गराउन संयोजकको जिम्मेवारी दिइएको श्रेष्ठले बताए। त्यसपछि ३२ साउन २०७६ मा निर्वाचनको मिति तय गरे पनि केन्द्रले नगर्न निर्देशन दिएपछि पटक- पटक निर्वाचन स्थगित हुँदै आएको श्रेष्ठकाे भनाइ छ।

‘काठमाडौं जिल्लाको अध्यक्ष र संयोजकको हैसियतमा मैले सबैसँग समन्वय गरी गएको साउन ३२ गतेका लागि अधिवेशनको तयारी गरेको थिएँ। त्यो मितिमा पनि केन्द्रले चुनाव गर्न दिएन’, श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर म लगायत कार्यसमितिका अधिकांश सदस्यलाई थाहा दिइएन। काठमाडौं जिल्ला खेलकुद विकास समितिको रोहवरबिना र परिषद्को निर्देशन अटेर गरेर गरिएको अधिवेशन वैधानिक हुँदैन।’

चन्द्रगिरिमा सम्पन्न निर्वाचनमा उपाध्यक्षमा दीपक महर्जन, सचिवमा रमेश श्रेष्ठ र कोषाध्यक्षमा किशोर खत्री केसी चयन भए। केशव रन्जित सदस्यमा चयन भए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी प्रमुख अतिथि रहेको विशेष साधारण सभामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, काठमाडौं जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि सानुराजा केसी, नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेलगायतको उपस्थिति रहेको नेपाल बक्सिङ संघले जनाएको छ।

जिल्ला कार्यसमितिको पहिलो बैठकले राजकृष्ण महर्जन, सुरेन्द्र महर्जन, कवुना श्रेष्ठ, राजकुमार महर्जन, सुनिता महर्जन, नवराज केसी, कृष्ण महर्जन र उमेश रिजाललाई सदस्यमा मनोनीत गरेको छ।

प्रतिक्रिया दिनुहोस्