मनाङ र थ्री स्टारले अंक बाँडे

काठमाडौं। साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले आज शहीद स्मारक 'ए' डिभिजन लिगमा अर्को उपाधि दाबेदार थ्री स्टारसँग २-२ को बराबरी खेलेको छ।

बराबरीसँगै मनाङ १३ अंकका साथ तेस्रो स्थानमा कायमै छ, जुन दोस्रो स्थानको मछिन्द्रसँग बराबर हो। तर, गोलअन्तरमा मछिन्द्र अगाडि छ।

थ्री स्टार पाँचौ स्थानमा यथावत् छ। थ्री स्टारको ११ अंक छ, जुन चौथो स्थानको पुलिस क्लबसँग बराबर हो। गोलअन्तरले पुलिस अगाडि छ।

लालराम माभ्राले फ्रीकिकमा गरेको सुन्दर गोलमा थ्री स्टारले १९औं मिनेटमा अग्रता लिएको थियो। लालराम भारतीय खेलाडी हुन्। लिगमा आज उनको पहिलो खेल हो। मनाङका पुजन उपरकोटीले ह्याण्डबल गरेपछि थ्री स्टारले फ्रीकिक पाएको थियो।

मनाङले दोस्रो हाफको शुरूमै पेनाल्टी अवसर पायो। मनाङका अशोक खवासले पेनाल्टी क्षेत्रमा अञ्जन बिष्टलाई फाउल गरेपछि मनाङले पेनाल्टी पाएको थियो, जसमा अञ्जनले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

६९ मिनेटमा अञ्जनले अग्रता दोब्बर बनाए। कमल श्रेष्ठको फ्रीकिकमा अञ्जनले हेडमार्फत् गोल गरेका थिए। कप्तान कमलले हानेको बल रोक्ने क्रममा रूपेश केसीले ह्याण्ड गरेपछि मनाङले फ्रीकिक पाएको थियो।

खेल सकिन सात मिनेट बाँकी रहँदा लालरामले बराबरी गोल फर्काए। अनन्त तामाङको हेड मनाङका गोलकिपर दीप कार्कीले राम्रो क्लियर गर्न नसकेको बललाई लालरामले पोष्टको दिशा दिएका थिए।

त्यसअघि ३०औं मिनेटमा अञ्जनको फ्रीकिक थ्री स्टारका गोलकिपर गुइलाउमी प्रेसोले बचाइदिएका थिए। त्यस्तै ३८औं मिनेटमा शिव सुवेदीले राम्रो अवसर खेर फाले। ४१औं मिनेटमा मनाङका बिमल रानाले हानेको प्रहार आकाशिएको थियो।

प्रतिक्रिया दिनुहोस्