विश्वकै होचा व्यक्ति खगेन्द्र थापा मगरको निधन

काठमाडौं। विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई २ माघमा पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालको सघन उपचारकक्ष (आईसीयू)मा उपचार गराइरहेका थापा मगरको आज दिउँसो तीन बजेतिर निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए।

खगेन्द्रमा मुटुको समस्या थियो। स्वासप्रस्वास, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यकभन्दा बढी हुने समस्या खगेन्द्रमा रहेको प्रतिष्ठानका अध्यक्ष रानाको भनाइ छ।

थापाले २८ असोज २०६७ मा विश्वकै होचा व्यक्तिको रूपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएका थिए। त्यतिबेला थापाको उचाइ ५७ सेन्टिमिटर थियो।

१८ असोज २०४९ मा जन्मिएका थापा मगरको त्यो बेला ६०० ग्राम तौल थियो। उनी रूपबहादुर थापा मगर र धनमाया थापा मगरका छोरा हुन्।

प्रतिक्रिया दिनुहोस्