एमसीसीको अनुदानमा कुनै स्वार्थ जोडिएको छैनः अमेरिकी दूतावास

काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को अनुदानमा कुनै स्वार्थ नजोडिएको स्पष्ट पारेको छ।

दूतावासले भनेको छ– ‘यो ५० करोड डलरको अनुदान हो, जसमा कुनै स्वार्थ छैन, ब्याजदर छैन वा लुकेको कुनै प्रावधान छैन। नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेका परियोजनाहरूमा उक्त रकम पारदर्शीरूपमा खर्च गर्न प्रतिबद्ध हुनु मात्र हो।’

साथै एमसीसीमा कुनै पनि सैन्य मामिला नजोडिएको दूतावासको भनाइ छ। यसमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनु नपर्ने र हस्ताक्षर गर्नु नपर्ने दूतावासले जनाएको छ।

आज फेसबुकमा एमसीसीका बारेमा जान्नै पर्ने तथ्य भन्दै १० बुँदामा एमसीसी कम्प्याक्ट परियोजनाका बारेमा दूतावासले स्पष्ट पारेको हो।

‘एमसीसीले काम गर्ने प्रत्येक मुलुकमा झैं नेपालमा पनि संसदीय अनुमोदन जरुरी छ। यसबाट पारदर्शिता स्थापित हुन्छ र नेपालीलाई परियोजनाबारे बुझ्ने अवसर पनि हुन्छ’, दूतावासले उल्लेख गरेको छ।

यस्तै एमसीसीले नेपालले कुन परियोजनाहरूमा खर्च गर्ने भन्ने विषय आफ्नै प्राथमिकताहरूका आधारमा नेपाल नै प्रस्ताव र निर्क्योल गरेको पनि दूतावासले जनाएको छ।

दूतावासका अनुसार एमसीसी परियोजना विशुद्धरूपमा आर्थिक विकासमा केन्द्रित छ। विद्युत् प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत् आर्थिक विकासलाई सघाउने एमसीसी परियोजनाको लक्ष्य रहेको दूतावासको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्