मनमोहन मेमोरियल कपः आर्मीलाई बलरकै भर
काठमाडौं। त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताकाे उपाधि बलरको प्रदर्शनमा भर पर्ने बताएका छन्।
त्रिभुवन आर्मी समूह ‘ए’ बाट विजेता बन्दै अन्तिम चारमा पुगेको थियो। अन्तिम चारमा त्रिभुवन आर्मीले बागमती प्रदेशलाई ६४ रनले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।
त्रिभुवन आर्मीले अब उपाधिका लागि अर्को विभागीय टीम नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ।
त्रिभुवन आर्मीका स्पिनर सुशन भारीले ११ विकेट लिइसकेका छन्। उनी धेरै विकेट लिने खेलाडीमा दोस्रो नम्बरमा छन्।  शाहब आलमले सात विकेट लिइसकेका छन्। आर्मीकै कुशल मल्ल प्रतियोगितामा धेरै रन बनाउने खेलाडी हुन्। उनले तीन इनिङमा एक शतकसहित १८३ रन बनाइसकेका छन्।
त्रिभुवन आर्मी क्लब गत वर्षको पनि विजेता टीम हो। फाइनल खेल सुनसरीको इनरुवा रंगशालामा बिहान ९ बजेबाट हुनेछ। प्रतियोगिताको विजेताले चार लाख पाँच हजार रूपैयाँ तथा उपविजेताले दुई लाख पाँच हजार रूपैयाँ पुरस्कार जित्नेछन्।  त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २१ हजार रूपैयाँ पुरस्कार जित्नेछन्।
नेपाल पुलिस क्लबका कप्तान मञ्जित श्रेष्ठले आफ्नो खेलाडीमा चाहिएको बेला प्रदर्शन गर्न सक्ने क्षमता भएका कारण फाइनलमा पनि राम्रो गर्ने विश्वास व्यक्त गरे।
"हाम्रो बलिङ र ब्याटिङ दुवै पक्ष राम्रो छ। सन्तुलित टीम छ। परेको बेला जे पनि गर्न सक्ने खेलाडी छन्। त्यसैले चाहिएको बेला राम्रो गर्न सक्छन् भन्नेमा म विश्वस्त छु", टस जितेमा पहिलो ब्याटिङ गर्ने संकेत दिएका कप्तान श्रेष्ठले थपे, "पिचको कन्डिसन कस्तो हुन्छ, अहिले केही भन्न सकिँदैन। तर, पहिले ब्याटिङ गर्दा दबाब कम हुन्छ।"
नेपाल पुलिस क्लब समूह ‘बी’ को विजेता हो। पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९९ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।
पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले १४३ रन बनाइसकेका छन्। पुलिस क्लबकै कुशल भुर्तेलले ९५ रन बनाएका छन्। त्यस्तै अनिलकुमार शाहले ८६ रन बनाइसकेका छन्।
बलिङतर्फ भने सागर ढकालले आठ विकेट लिइसकेका छन्। ललितसिंह भण्डारीले ६ विकेट लिइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्