नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १ फागुनदेखि

काठमाडौं। तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १ फागुनदेखि काठमाडौंमा हुने भएको छ। ५ फागुनसम्म चल्ने महोत्सवमा ८० वटा चलचित्र प्रदर्शनमा आउनेछन्।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको सभाकक्षमा हुनेछ।

महोत्वसमा १० वटा अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, पाँच नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, आठ वृत्तचित्र र ६ एनिमेटेड चलचित्र प्रदर्शन तथा प्रतिस्पर्धा हुने आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको छ।

विगतका दुईवटा महोत्सवमा कथानक चलचित्र मात्र प्रस्तुत गरिँदै आइएको थियो। यो वर्षमा एनिमेसन र वृत्तचित्रको विधा थप गरिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट कथानक चलचित्रलाई एक हजार ५०० अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलरसहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलरसहित बागमती अवार्ड प्रदान गरिनेछ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट कथानक चलचित्रलाई एक लाख रूपैयाँ र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रूपैयाँसहितको पुरस्कार प्रदान गरिनेछ। कथानक चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ।

महोत्सवमा राजेश हमालले आफ्नो अभिनय यात्राका बारेमा अनुभव सुनाउने समेत कार्यक्रम राखिएको छ। महोत्सवमा प्रदर्शनमा आउने चलचित्रमध्ये कथानकलाई बलिउड फिल्म निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले मूल्यांकन गर्नेछ।

यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्चुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडी सदस्य रहनेछन्।

वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रतर्फको निर्णायक मण्डलको नेतृत्व श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुणाले गर्नेछिन् भने उनलाई थिबाउट फ्रेक र करुणा थापाले सघाउनेछन्।

प्रतिक्रिया दिनुहोस्