दिल्ली बलात्कार: फाँसीको सजायविरुद्ध गरिएको अपील खारेज
काठमाडौं। निर्भया बलात्कार प्रकरणमा दोषी ठहर भइ फाँसीको सजाय सुनाइएका विनय कुमार शर्मा र मुकेश सिंहले दायर गरेको क्यूरेटिभ पिटिशन भारतीय सर्वोच्च अदालतले खारेज गरिदिएको छ। यी दुईमाथि सन् २०१२ को १६ डिसेम्बरमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा यही २२ जनवरीमा फाँसी दिने तय भएको छ।

फाँसीको सजायविरुद्ध शर्मा र सिंहले गरेको अपील न्यायाधीश एन वी रमन्ना नेतृत्वको पाँच सदस्यीय बेन्चले खारेज गरिदिएको हो। शर्मा र सिंहको अपील खारेज भएपछि निर्भयाकी आमाले ७ वर्षदेखि न्यायका लागि संघर्षरत रहेको भन्दै २२ जनवरीको दिन आफ्ना लागि महत्वपूर्ण हुने बताइन्।

मुकेस सिंहले अदालतबाट अपील खारेज भएपछि फाँसीको सजायबाट बच्न अन्तिम उपाय पनि प्रयोग गर्ने भएका छन्। सिंहले भारतीय राष्ट्रपतिसमक्ष दया याचिका पठाएका छन्। तिहाड जेल प्रशासनमार्फत उनले दया याचिका पठाएका हुन्। फाँसीको सजायमा राष्ट्रपतिले माफी दिन सकिने प्रावधान भारतीय संविधानमा छ।

निर्भया सामूहिक बलात्कार प्रकरणमा चार दोषीलाई दिल्लीको एक अदालतले यही जनवरीमा फाँसी दिने तय गरेको थियो। जसका आधारमा पटियाला हाउस कोर्टले २२ जनवरीको विहान उनीहरुलाई फाँसी दिने निर्णय सुनाएको थियो।

२३ वर्षीया एक छात्रालाई सामूहिक बलात्कार गरेको मुद्दामा ६ जनाविरुद्ध कारबाही चलाइएको थियो। जसमध्ये एक जनाले तिहाड जेलमै रहँदा मुद्दाको अन्तिम किनारा नलाग्दै आत्महत्या गरेका थिए। अर्का एक नाबालिग रहेको भन्दै अदालतले सुधारगृह पठाएको थियो। सुधारगृहबाट निस्किसकेका १७ वर्षीय नाबालक (घटना हुँदा) अहिले एक गैरसरकारी संस्थाको संरक्षणमा छन्।

सन् २०१२ मा एक मेडिकल छात्रा (निर्भया) लाई दिल्लीमा चलिरहेको बसमा ६ जनाले बलात्कार गरेका थिए। निर्भयासँग रहेका पुरुष साथीलाई उनीहरूले कुटपिट गरेर सडकको छेउमा फालिदिएका थिए। बालत्कृत निर्भयाको सिंगापुरस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्