ए डिभिजन लिग: शीर्ष स्थानमा पुग्नबाट चुक्यो आर्मी, संकटासँग १-१ को बराबरी

काठमाडौं। दश खेलाडीमा सिमित बनेको त्रिभुवन आर्मी क्लबले आज संकटा क्लबसँग १–१ को बराबरी खेलेपछि शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

त्रिभुवन आर्मी क्लबले २९औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। नवयुग श्रेष्ठले दिनेश हेनजनको पासमा हेडमार्फत गोल गर्दै त्रिभुवन आर्मीलाई अग्रता दिलाएका थिए। ५२औं मिनेटमा युद्ध शाहीले दोस्रो पहेंलो कार्डको सामना गरेपछि त्रिभुवन आर्मी दश खेलाडीमा सिमित भएको थियो।

युद्धले लक्ष्मण रूचाललाई फाउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले उनलाई दोस्रो पहेंलो कार्डको दर्शन गराएका थिए। त्यसअघि उनले दशौं मिनेटमा पहेंलो कार्डको सामना गरेका थिए। संकटाका मेसोउके ओलोउमोउलाई फाउल गरेपछि रेफ्रीले युद्धलाई पहिलो पहेंलो कार्ड देखाएका थिए।

त्रिभुवन आर्मी दश खेलाडीमा समेटिएको दुई मिनेट नबित्दै संकटाले पेनाल्टीको अवसर पायो। बल क्लियर गर्नेक्रममा त्रिभुवन आर्मीका रक्षक सुमन अर्यालको हातमा लागेपछि संकटाले पेनाल्टी पाएको हो। त्यसमा अमित तामाङले कुनै गल्ति नगरी गोलमा परिणत गरे।

त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले रेफ्रीको गलत निर्णयका कारण बराबरीमा रोकिनु परेको बताए। ‘शीर्ष डिभिजन लिग खेलाउनु पर्ने रेफ्री बंगबन्धु कप खेलाउन गएका छन्। रेफ्रीको अपरिपक्व निर्णयका कारण आज बराबरी खेल्नुपर्‍यो,’ त्रिभुवन आर्मीका प्रशिक्षक न्यौपानेले भने, ‘बी र सी डिभिजन लिग खेलाउने रेफ्रीको अपरिपक्व निर्णयका कारण हामी आज दश खेलाडीमा समेटिनु पर्‍यो।’

बराबरीसँगै त्रिभुवन आर्मी क्लबले शीर्ष स्थानमा दुई अंकको अग्रता लिने मौका गुमायो। त्रिभुवन आर्मी ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको मछिन्द्रसँग बराबरी हो। मछिन्द्रको पनि १३ अंक छ। छैठौं चरणमा मछिन्द्रले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको थियो।

मछिन्द्रको १४ अंक भए पनि गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेका कारण एक अंक घटाइएको हो। एन्फाले गत सिजन रेलिगेशन प्रावधान हटाएर पुछारमा रहने दुई टीमको नयाँ सिजनमा क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेको थियो। त्यसैले मछिन्द्रको अहिले १३ अंक भएको हो। साविक विजेता मनाङ भने १२ अंकका साथ तेस्रो स्थानमा । थ्री स्टार दश अंकका साथ चौथो स्थानमा छ।

गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटा भने आठ अंकका साथ आठौं स्थानमा छ। संकटाका प्रशिक्षक विजय महर्जनले त्रिभुवन आर्मी दश खेलाडीमा सिमित भए पनि त्यसको फाइदा उठाउन नसकेको बताए। उनले थपे, ‘हाम्रो खेलाडीले दबाबमुक्त भएर खेल्न सकेनन्।’

त्रिभुवन आर्मीका फरवार्ड भरत खवास मैदानमै ढलेपछि दशरथ रंगशालाको माहोल केहीबेर तनावपुर्ण बनेको थियो। लक्ष्मण रूचालको फ्रिकिकलाई रोक्न ‘बार’ बनेर उभिएका भरत खवासले हेड गरे। तर सन्तुलन नमिल्दा भरत मैदानमै ढलेका थिए।

रेफ्रीले अस्पताल लैजान संकेत गरेपछि एम्बुलेन्स मैदान भित्रै छिराइएको थियो। तर भाग्यवस, भरतलाई तत्काल अस्पताल लैजानु परेन। प्राथमिक उपचारपछि उनी उठेका थिए।

भरत ८१औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए। मैदान छिरेलत्तगै उनी ढलेका हुन्।

प्रतिक्रिया दिनुहोस्