धनगढी विमानस्थलको मर्मत नसकिँदा हवाई सेवा प्रभावित

कैलाली। धनगढी विमानस्थलको धावनमार्ग मर्मतको काम नसकिदा हवाई सेवा आंशिक रुपमा प्रभावित भएको छ।

निर्माण कम्पनीले धावनमार्ग निर्माणका नाममा ३ बजेपछिको उडान बन्द गराएपनि निर्माण कार्य भने जारी नराखेको हवाई कम्पनीहरुको आरोप छ।

काठमाडौंबाट बुद्ध एयर र श्री एयरलाईन्सले धनगढीमा दैनिक दुई/दुई वटा उडान भर्दै आएका थिए।

निर्माण कम्पनीले विमानस्थल आंशिक बन्द गरेपछि बुद्ध एयरले दैनिक एउटा मात्रै उडान गर्दै आएको छ। श्री एयरलाईन्सले भने साँझको उडान तालिकालाई अघि सारेको छ।

उडान कटौतीसँगै धनगढी- काठमाण्डौं-धनगढीका यात्रुहरुले चर्को हवाई भाडा तिर्नुपरिहेको गुनासो गरेका छन्।

बुद्ध एयर धनगढीका इन्चार्ज बुधराम माझीले उडान संख्या कम भएपछि सिटसंख्या घटेको तर यात्रुको चापका कारण भाडा बढेको बताए।

दैनिक चार वटा उडान हुँदा यात्रुहरुले चार हजार २०० रुपैयाँसम्ममा धनगढी-काठमाण्डौं यात्रा गर्थे।

उडानसंख्या कम भएपछि एयरलाईन्सहरुले सस्तो दरको टिकट हटाएका छन्।

लुम्बिनी, कोशी, एण्ड न्यौपाने, खड्का, कृष्ण जेभीले धनगढी विमानस्थल मर्मत तथा निर्माणको ठेक्का आउँदो ३० फागुनसम्म सक्ने गरी सम्झौता गरेको छ।

२० करोड रुपैयाँ लागत रहेको विमानस्थल मर्मत अन्तर्गत एक हजार ८०० मिटर लामो धावनमार्ग चार मिटर थप चौडा गरिनेछ ।

हाल ३० मिटर चौडाई रहेको धावनमार्गको दुबैतिर दुई /दुई मिटर सोल्जर निर्माण गरिनेछ । त्यस्तै ट्याक्सी मार्ग र एप्रोन निर्माण गरिनेछ।

ठेकेदार कम्पनीका ईञ्जिनियर योगेन्द्र शर्माले हालसम्म ८० प्रतिशत निर्माण कार्य पुरा भएको जानकारी दिए।

चिसो र वर्षाका कारण निर्माणको लागि पर्याप्त समय दिन नसकेको शर्माले बताए।

प्राविधिकका अनुसार १५ डिग्रिबाट भन्दा कम तापक्रममा कालोपत्रे गर्दा निर्माण गुणस्तर हुँदैन।

प्रतिक्रिया दिनुहोस्