पर्यटन बोर्डबाट एक करोड लिएर विदेशी फरार

काठमाडौं। नेपालको पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक लाख अमेरिकी डलर (एक करोड १३ लाख रुपैयाँ) लिएर एक विदेशी फरार भएका छन्।

विश्वका चर्चित कलाकारलाई नेपाल घुमाएर प्रचार गर्ने भन्दै रकम बुझेपछि जर्मन नागरिक माइकल कोबाल्ड सम्पर्कबीहीन भएका हुन् ।

उनले अमेरिकाबाट पुराना दमकल ल्याएर हिमाली जिल्ला पुर्‍याएर नयाँ शैलीमा प्रचार गर्ने कार्यक्रममा सम्झौता गरेका थिए।

‘नेपाल फायर ट्रक एक्सपिडिसन’ नामक उनको कार्यक्रमका लागि बोर्डले दुई लाख डलरमा सम्झौता गरेर एक लाख डलर शुरुमै दिएको थियो।

सार्वजनिक खरिद ऐनअनुसार विनाप्रतिस्पर्धा यसरी सम्झौता गर्न मात्र होइन, शुरुमै आधा भुक्तानी गर्नसमेत मिल्दैन ।

घटनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । माइकलसँगै बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायतविरुद्ध उजुरी परेपछि आयोगले छानबिन थालेको हो।

प्रारम्भिक छानबिनमै गम्भीर त्रुटि भेटिएपछि विस्तृत छानबिन थालिएको अख्तियारका एक अधिकारीले बताए ।

आजको नयाँ पत्रिका दैनिको समाचार अनुसार अख्तियारले विदेशी नागरिकलाई भुक्तानी दिन प्रयोग भएका कागजपत्र बोर्डबाट जफत गरिसकेको छ।

एक वर्षभित्र सो कार्यक्रम गर्ने भन्दै उनले सन् २०१७ मै भुक्तानी लिएका थिए। बोर्डका पूर्वसिइओ जोशीले भने कानूनअनुसार नै सम्झौता भएको र काम नगरेपछि बाँकी भुक्तानी नदिएको बताए।

आफू पुनः बोर्डको सिइओको प्रतिस्पर्धामा रहेकाले यो विषयलाई अख्तियारमार्फत उचाल्न खोजिएको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्