'छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर'

अछाम। महीनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ।

प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको तस्तै छ।

त्यसैले महीनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन् । कतिपयले त भत्काइएका छाउगोठ बनाउन थालेका छन्।

२७ पुसमा अछामको तुर्माखाँद गाउँपालिका–५ धाङ्टाकी कला विक भत्काइएको छाउगोठ मर्मत गर्दै थिइन्।

२६ पुसमा महीनावारी भएकी उनी ‘देउता रिसाउने’ डरले घरभित्र पसिनन्, भत्काएकै छाउगोठमा रात बिताइन् । मर्मत गर्दै गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर उनको मनमा छ।

‘बाहिर बस्दा सरकारको डर छ, भित्र देवी-देउताको,’ कलाले भनिन्, ‘महीनावारी हुँदा सधैँ छाउगोठमै बस्यौंँ, अहिले कसरी भित्र छिर्नु ?’

खरले छाएको दुईकोठे घरमा कला तीन नाबालक छोरासँगै बस्छिन्। श्रीमान् रोजगारका क्रममा भारतमा छन्। चाडबाडका वेला मात्रै फर्किन्छन्।

निरक्षर कला महीनावारी हुँदा घरभन्दा केही पर बनाइएको छाउगोठमा बस्नु परम्परादेखि चल्दै आएको ‘सामाजिक संस्कार’ हो भन्ने बुझ्छिन्।

छाउगोठमा बसेको पाइए कारबाही गर्ने भनिएकाले पक्राउ परिएला की भन्ने डर पनि उनमा देखिन्छ। नयाँ पत्रिका दैनिकले आज स्थलगत रिपोर्ट लेखेको छ।

"अछाम जिल्लामा १६ सय र हाम्रो गाउँपालिकामा मात्र करिब तीन सय छाउगोठ भत्किएका छन्। छाउगोठ भत्काएर मात्र यो प्रथा तत्काल अन्त्य हुने अवस्था छैन। भौतिक गोठ भत्कायौँ, तर मान्छेका मनमा भएका गोठ भत्किएका छैनन्", तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा भन्छन् ।

प्रतिक्रिया दिनुहोस्